Logo

देवता नै असुरक्षित



काठमाडौँ, २८ पुस । ७२ मंसिर ११ मा कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरबाट २१ वटा मूर्ति चोरी भए । १७ वटा देपालगाउँको जंगलमा अलपत्र भेटिए, पाँचवटा अझै फेला परेका छैनन् । डोल्पाको बाला त्रिपुरासुन्दरी मन्दिरबाट ०५७ कात्तिक २१ मा चार शिलासहित १८ वटा मूर्ति हराए । प्रहरी अनुसन्धान क्रममा १७ वटा फेला परे भने शिलायोगमायाको मूर्ति अझै फेला परेको छैन ।

कर्णालीमा देवीदेवताका मूर्ति हराउने क्रम बढ्दै गएको छ । गिरोह नै सक्रिय भएर विभिन्न शक्तिपीठबाट मूर्ति चोर्ने क्रम बढेपछि कर्णालीका ‘देवता’ असुरक्षित हुन थालेका हुन् । मूर्ति चोरीको विषयमा अनुसन्धान गर्न प्रहरीलाई हैरानी परिरहेको छ, हराएका थुप्रै मूर्तिहरू भेटिएका छैनन् । मूर्ति नभेटिएपछि मठमन्दिरको अस्तित्व नै हराउने हो कि भन्ने चिन्ता पुजारीहरूको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार दशकयता विभिन्न जिल्लाबाट ५१ थान ऐतिहासिक र पुरातात्त्विक मूर्ति हराइसकेका छन् । अनुसन्धानका क्रममा २५ वटा फेला परेका छन् भने २६ वटा भेटिएका छैनन् । जुम्लाबाट मात्रै २१ वटा प्राचीन मूर्ति हराएका छन् । मुगुबाट दुईवटा चोरिएका छन् । ०४६ सालमा सोरु गाउँपालिकाको भिईबाट महेश्वरको प्राचीन बहुमूल्य मूर्ति चोरी भएको थियो भने ०५६ मा गुराको मूर्ति चोरी भएको मुगु प्रहरीले जनाएको छ ।

मुगुमा सानारठूला गरी करिब १२ सय बौद्धगुम्बा र ८ सय मठमन्दिर छन् । छायानाथ, ऋणमोक्ष, थार्पमष्टा, भिइ, गुरादेवता प्रसिद्ध मानिन्छन् । चोरीका घटना बढेपछि प्राचीन महत्त्वका मठमन्दिर असुरक्षित हुन थालेको छायानाथ मन्दिरका पुजारी लक्ष्मी चौलागाईंले बताए । उनका अनुसार ०३२ सालमा रारा राष्ट्रिय निकुञ्ज घोषणा गर्दा छाप्रु गाउँका स्थानीयले बस्ती छोडेर बाँके चिसापानी सरेपछि मूर्ति चोरीका घटना हुन थालेका हुन् । उनले दसवर्षे सशस्त्र द्वन्द्वका बेला हराएका मूर्तिको अभिलेख प्रहरीसँगै नभएको सुनाए । छाप्रु महादेवको मूर्ति हराएपछि मन्दिरको महत्त्व घटेको उनको भनाइ छ । अहिले मन्दिर जीर्ण छ । स्थानीय तहले समेत प्राचीन महत्त्वका मन्दिरको संरक्षण गर्न नसकेको उनले गुनासो गरे । जुम्लाको चन्दननाथ मन्दिरमा रहेको ६०१ सालको सरस्वतीको मूर्ति, सात धार्नी चाँदीको मूर्ति, दाइने शंखसहित महत्त्वपूर्ण मूर्ति अझै फेला परेका छैनन् । कतिपय मूर्ति प्रहरी सक्रियताबिनै भेटिएका पनि छन् । वर्षैपिच्छे मठमन्दिरबाट प्राचीन र पुरातात्त्विक महत्त्वका मूर्ति चोरी हुन थालेपछि स्थानीयसमेत त्रसित छन् ।

गुठी संस्थानका पूर्वअध्यक्ष गौरीचन्द्र आचार्यले प्रहरी अनुसन्धान सफल नहुँदा हराएका मूर्तिहरू नभेटिएको बताए । ‘प्रहरीले अनुसन्धान गरिरहेका छौं भन्छ,’ उनले भने, ‘मूर्ति चोरी भएको वर्षौं भइसक्दा पनि भेटिएका छैनन् ।’ उनका अनुसार जुम्लामा चन्दननाथ र सिंजा क्षेत्रको कनकासुन्दरी मन्दिरका मूर्ति पुरातात्त्विक महत्त्वका हुन् । असुरक्षाका कारण कनकासुन्दरी मन्दिरका प्राचीन मूर्तिहरू पनि हराइरहेको उनले बताए । महँगो मूल्यमा बिक्री हुने भएकाले मूर्तिचोरहरूले कर्णालीका मन्दिरमा आँखा गाडेको आचार्यको भनाइ छ । मूर्ति चोर्ने गिरोहले देवी–देवताका मठमन्दिरमा चियो गर्दै हिँड्ने गरेको उनको दाबी छ । मूर्ति चोरीमा संलग्न व्यक्तिले स्थानीयसँग गोप्य रूपमा समन्वय गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

कर्णालीमा पुरातात्त्विक महत्त्व बोकेका गुम्बा र मठमन्दिरमा महत्त्वपूर्ण मूर्ति रहेको डा। कलबहादुर रोकाया बताउँछन् । ‘सरकारले कुन मन्दिर र गुम्बाका मूर्ति बढी महत्त्वका छन् भन्नेबारे विवरण राख्न सकेको छैन,’ उनले भने, ‘मूर्तिको विश्लेषण गरी सुरक्षा सतर्कता अपनाउन सकिए ऐतिहासिक महत्त्वका मूर्ति संरक्षण गर्न सकिन्छ ।’ ०६२ मा हुम्लाको खार्पुनाथ मन्दिरबाट तीनवटा प्राचीन मूर्ति चोरिएका थिए । प्रहरी सक्रियताले तीनवटै मूर्ति केही समयपछि भेटिएका थिए । केही वर्षअघि हुम्लाकै प्रसिद्ध रललिङ गुम्बाबाट चोरी भएका केही मूर्ति अझै फेला परेका छैनन् । हुम्लामा रललिङ, याल्वाङ, हल्झी, खारपानी र तमकोट गुम्बा पुरातात्त्विक महत्त्वका मानिन्छन् । त्यस्तै शिव मन्दिर, रामपात, लसुर, कालाशिल्तो सर्किभवानीलगायत मठमन्दिरका मूर्तिलाई पनि महत्त्वपूर्ण मानिएको छ । ऐतिहासिक मूर्तिको सरकारले रक्षा गर्न नसकेको पुजारी र धामीझाँक्रीको गुनासो छ । कुलमष्टा देवताका जिल्ला संयोजक ज्ञानप्रसाद भट्टका अनुसार कर्णालीमा करिब १२ हजार देवीदेवताका मठमन्दिर छन् ।

०७२ मंसिर १० मा डोल्पाको सेलरी गुम्बाबाट १० वटा बुद्धका मूर्ति हराएका थिए, सबै भेटिइसकेका छन् । ०७२ चैत १२ गते मेडिकम गुम्बाबाट तीनवटा मूर्ति हराएका थिए भने ०७३ जेठ २८ मा वन गुम्बाबाट एउटा मूर्ति हराएको डोल्पा प्रहरीले जनाएको छ । डोल्पामा मूर्ति चोरीका घटना बढ्न थालेको प्रहरीको तथ्यांक छ । डोल्पामा करिब ३ सय बौद्ध गुम्बा र ५ सय मठमन्दिर छन् । बालात्रिपुरासुन्दरी, मष्टाभवानी, जगन्नाथ, मष्टोलगायत मठमन्दिर महत्त्वपूर्ण मानिन्छन् । आदिवासी जनजातिको बाहुल्य भएको डोल्पामा बौद्ध धर्मावलम्बीको संख्या उल्लेख्य छ । ०७१ देखि ०७६ सम्म कर्णालीमा मूर्ति चोरीका १२ वटा घटना भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी ९डीएसपी० लोकनाथ तिम्सिनाले बताए । मूर्ति चोरीका घटना अनुसन्धानमा प्रहरी सफल भइरहेको उनको दाबी छ ।

चोरी भएका मूर्ति अवैध मार्ग भएर काठमाडौं, भारत र तिब्बतसम्म पुग्ने गरेको लेखक प्रेम कैदी बताउँछन् । ‘देवीदेवताका मन्दिरमा रहेका अधिकांश मूर्ति प्राचीन र धातुका हुने भएकाले महँगोमा बिक्री हुने गरेका छन्,’ उनले भने, ‘मूर्ति चोरीमा गिरोह नै सक्रिय हुने गरेको छ ।’ जुम्लामा चोरी भएको मूर्तिबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् । ‘प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भनिन्, ‘यस विषयमा अन्य कुरा भन्न मिल्दैन ।’
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्