Logo

चन्द्रमामा साथ लाने जीवनसाथी खोज्दै जापानी अर्बपति, आवेदन खुलाए



सँसारमा पहिलोपटक चन्द्रमाको व्यवसायिक उडान हुने सार्वजनिक भइसकेको छ । सन् २०२३ मा हुने उडानका लागि टिकट पाउने यात्री हुन् जापानी अर्बपति यासाकु मेजावा । उनी चन्द्रमाका लागि एक्लै उड्नेछैनन्, जीवनसाथी पनि हुनेछिन् ।

४४ वर्षीय मेजावा एक्लो छन् । त्यसैले आफूसँगै चन्द्रमाको यात्रामा जाने महिला जीवनसाथी खोजिरहेका छन् । अनलाइन अपिलमा मेजावाले आफ्नो चन्द्रमा यात्राको अनुभव एकजना विशेष महिलासँग साट्न चाहेको भन्दै आवेदन खुलाएका छन् ।

मेजावा हालैमात्र प्रेमिकासँग बिछोडिएका छन् । २७ वर्षीया केटीसाथी आयामी गोरिकीसँगको सम्बन्ध टुटेपछि मेजावाले नयाँ अनलाइन अपिल गरेका हुन् । आफू एक्लो अनुभव गरिरहेको भन्दै एकजना महिलासँगको प्रेममा रहन चाहेको भनेका छन् । ती जीवनसाथीलाई अन्तरीक्ष बाहिर सँगै लिएर जान चाहेको उल्लेख गरेका छन् ।

मेजावाले चाहेको केटीसाथी २० वर्षमाथिको हुनुपर्ने उल्लेख छ । सकारात्मक सोच र अन्तरीक्षमा जाने इच्छा भएको हुनुपर्ने लेखिएको छ । त्यसका लागि तीन महिनासम्म आवेदन दिनसकिने छ ।

जापानी कपडा जोजो ब्रान्डका मालिक मेजावा फेशनको दुनियाँमा चलेका नाम हुन् । उनीसँग तीन अर्ब डलरको सम्पत्ति छ ।

चन्द्रमामा निजी खर्चमा जाने पहिलो यात्रीका रुपमा जाने भएपछि उनी चर्चामा छन् । इलोन मस्क नामको स्पेस एक्स नामक कम्पनिबाट मेजावाले यात्रा गर्दैछन् । उनी कति रकम तिरेर जाँदैछन् खुलेको छैन ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्