Logo

कांग्रेसको किचलो कहिलेसम्म ?



पुष २८, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला शीर्ष नेताहरुबीच भेटवार्ता भएपछि सकारात्मक संकेत देखिएको छ । यद्यपी अहिलेसम्म कुनै ठोस प्रगति भने भएको छैन । विगतमा पनि पटक पटक भेट र छलफल नभएको होइन, तर उपलब्धि शुन्य । त्यसैले अझै पनि कांग्रेसको विवाद साम्य होला भन्ने विश्वास छैन ।

पछिल्लो समय सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद र मतभेद मात्रै होइन, पानी बाराबारको स्थिती थियो । तर आइतबार साँझ सभापति देउवाले असन्तुष्ट नेताद्धय रामचन्दै पौडेल र कृष्णप्रसाद सिटौलालाई आफ्नै निवास बुढानिलकण्ठमा बोलाएर छलफल गरे । छलफलमा विवादको श्रृखलालाई अन्त्य गर्दै सहमतिको मिलनविन्दु खोज्ने सहमति भयो । तर के विषयमा कसरी सहमति गर्ने भन्ने ठोस आधार भने तय भएन । पौडेल केही दिनका लागि भारत प्रस्थान गरेका छन् । पौडेल फर्किएपछि ठोस सहमति गर्ने सहमहामन्त्री डा.प्रकाशशरण महत बताउँछन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका, विभागको संख्या, भातृ संगठन गठन लगायतका विषयले विवाद चुलिदै हो । पुष ११ गतेको केन्द्रिय समितिले यि निर्णय गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर अर्थात संस्थापन विपक्षी केन्द्रिय सदस्यहरु उपस्थित थिएनन् । देउवा गुटका नेता तथा सहमहामन्त्री डा. प्रकाशसरण महत दुवै पक्षको गल्ती रहको स्वीकार गर्छन् । सभापतिले उचित समयमा महत्वपूर्ण निर्णय गर्न नसक्दा पौडेल पक्षले निहुँ खोज्ने बाटो पाएको महत बताउँछन् । अहिले सबै भइरहेको झगडा १४ औँ महाधिवेशनका लागि शक्ति संचयको रुपमा लिइएको डा. महत बताउँछन् ।

पुष ११ गतेको निर्णयबारे संस्थापन पक्षले पुनर्विचार गर्नुपर्ने पौडेल पक्षको माग छ । अहिलेको समस्या भनेको त्यही पुष ११ गते भएका निर्णयहरुमा केन्द्रित भएको नेता नविन्द्रराज जोशीको तर्क छ ।

आइतबार बूढानीलकण्ठमा पौडेल र सिटौलासँग देउवाले गरेको संवादलाई महत्वपूर्ण रुपमा हेरिएको छ । विवाद समाधानका उपायबारे करिब डेढ घण्टा छलफल भएको थियो । संवादका लागि केन्द्रीय सदस्य रमेश लेखकले मध्यस्थता गरेका थिए । छलफलमा देउवा, पौडेल, सिटौला, महामन्त्री पूर्णबहादुर खड्का र लेखक सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्