Logo

पर्यटक लोभ्याउने योजनामा स्थानीय तह



काठमाडौँ, २९ पुस । काठमाडौँ उपत्यकाका नगरपालिकाले नेपाल भ्रमण वर्र्ष लक्षित गरी आ–आफ्नो नगरपालिकाको पर्यटकीय क्षेत्र सिँगार्न र पर्यटनमैत्री बनाउन सक्रिय भएका छन् । उनीहरू सम्पदा अवलोकन, जङ्गल सवारी, धार्मिकस्थललाई पवित्र तीर्थस्थलका रूपमा प्रचार गर्ने, जिपलाइन निर्माण, पद यात्राको व्यवस्था र होमस्टे निर्माणलगायतका काममा सक्रिय भएका छन् ।

नेपाल भ्रमण वर्ष सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारले योजना बनाएको छ । उक्त योजनालाई सार्थक बनाउन उपत्यकाका नगरपालिकाले आ–आफ्नो क्षेत्रमा भएका धार्मिक र पर्यटकीय स्थललाई आकर्षक बनाउन लागेका हुन् ।
नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नेपाल भ्रमण वर्षमा नगरपालिकाभित्र भएका पर्यटकीयस्थल सिँगार्ने काम भइरहेको बताए । उनका अनुसार इचङ्गुनारायण मन्दिर, हल्चोक आकाशभैरव, रानीवन क्षेत्र, नागार्जुन जामाचो, ह्वाइट गुम्बा, बद्रीनारायण धाम, गणेशमान स्मृति पार्क, शहीद पार्क, भीमसेनस्थान, स्विजरल्यान्ड पार्कलाई पर्यटकमैत्री बनाइएको छ । त्यस्तै, हसन्टार गुम्बा, भूवनेश्वरी मन्दिर, पञ्चकन्या मन्दिर, तारकेश्वर मन्दिर र नगरपालिकाका विभिन्न स्थानमा होमस्टे निर्माण गर्ने काम भइरहेको छ ।

उनले भने, “नगरपालिकामा भएका क्षेत्र सधैँ पर्यटकका लागि आकर्षण स्थल हो, नेपाल भ्रमण वर्षलाई लक्षित गरी यी क्षेत्रमा थप आकर्षक बनाउन लागिएको हो ।” ललितपुरको महालक्ष्मी नगरपालिकाले नेपाल भ्रमण वर्ष अवधिमा आन्तरिक र बाह्य पर्यकलाई हाइकिङ र साइकलिङको प्रबन्ध गरिएको जनाएको छ । नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले लुभु र सिद्धिपुरमा गरिने स्थानीय उत्पादन पर्यटकलाई अवलोकन गराउने, अशोक स्तूपा, लाकुरी भञ्ज्याङमा पर्यटकलाई भ्रमण गराउने आवश्यक प्रबन्ध गर्न लागिएको बताए ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्