Logo

‘शेरबहादुरजीबाट पार्टी चल्दैन’



डा. सशांक कोइराला: शेरबहादुरजीले महाधिवेशनको मिति तोक्नुभन्दा पहिले परामर्श गर्नुपथ्र्यो । समयमै महाधिवेशन होस् भन्ने त हाम्रो पनि चाहना छ नि । तर, उहाँले एकलौटी गर्न खोज्नुभएको त्यो दुर्भाग्य हो ।

शेरबहादुरजी एलौटी ढंगले अगाडि जान चाहनुहुन्छ । हाम्रो विमति कार्यतालिका दिएकोमा होइन । हाम्रो विमति त यतिमात्रै हो, उहाँले हामीसँग परामर्श किन गर्नुभएन ? हामी सबै मिलेर त्यही मिति तय गरेको भए के बिग्रिन्थ्यो र ? शेरबहादुरजीले किन सहमति गर्न चाहनुभएन ? त्यसैमा शंका उत्पन्न हुन्छ । अब महाधिवेशनको निर्णय उहाँले सच्याउनु नै भएन भने हाम्रो के विकल्प रहन्छ र । महाधिवेशनमा त जानैपर्छ नि ।

कांग्रेसमा शेरबहादुरजीसँग मात्रै पकड छ ? हामीसँग पनि पकड छ नि । २८ बाट ४७ विभाग बनाउनुभयो । त्यो पनि सहमतिमा आउन सक्थ्यो । अहिले विभाग किन बनाउनुभयो ? यी सबै बहाना पार्टीलाई आफ्नो कब्जामा ल्याउने रणनीति मात्रै हो । पहिलो ६ महिनाभित्रै उहाँले विभागहरु गठन गर्नुपथ्र्यो । यत्रो चार वर्ष किन गर्नुभएन, अन्त्यमा आएर फेरि किन गठन गर्नुभयो ? अहिले विभाग बनाएर पार्टीलाई के उपलब्धि ? विभाग बनाउनुको कारण खाली मान्छे चोर्नलाई मात्रै हो । हाम्रोतर्पmको मान्छे पनि चोरेर उहाँले बनाइदिनुहुन्छ । उहाँ पार्टी कब्जाको रणनीतिमा हुनुहुन्छ ।

अब महाधिवेशन आउन १३ महिना बाँकी छ । त्यो समयमा हामी गाउँगाउँमा गएर माहोल सिर्जना गर्छौं । हाम्रो गुटमा सबैको एउटै धारणा के छ भने, ‘अब शेरबहादुरजीबाट पार्टी चल्दैन त्यो जोगाउन हामी एक ठाउँमा उभिनुपर्छ, यति त छ ।’ हाम्रो गुटबाट एकजना मात्रै क्यान्डिनेट दियौं भने त शेरबहादुरजी हार्नुहुन्छ ।

एउटै मात्र उम्मेदवारी दिने गम्भीर विषय छ, यसमा हामी एक हुनुहुपर्छ । यति पनि बुझ्दैनन् नेताहरुले भने पार्टीभित्र गम्भीर खतरा उत्पन्न हुन्छ । कांग्रेसलाई एक बनाउने सबैभन्दा ठूलो भूमिका सभापतिको हुन्छ । त्यसैले सभापति नै परिवर्तन गरेर पार्टी एक बनाउनुपर्छ । शेरबहादुरजीको नेतृत्व भएसम्म काँग्रेस एक हुँदैन ।

अहिले सदनमा हाम्रो स्वर कमजोर छ, त्यसलाई बलियो बनाउन देशभरबाट जिताएर ल्याउनुप¥यो । त्यसको लागि सभापति परिवर्तन गरेर बलियो बनाउनुप¥यो । सभापति परिवर्तन नहुँदासम्म न हामीमा एकता हुन्छ, न उभो लाग्छौं । शेरबहादुरजी असफल हुनुभयो । उहाँ एउटा गुटमा मात्रै सभापति हुनुभयो, सम्पूर्ण कांग्रेसको सभापति हुनुप¥यो । महाधिवेशनपछि पनि कांग्रेस एक जुट भएर हिड्नु्प¥यो । त्यो भएको खण्डमा हाम्रो बहुमत पनि आउँछ, सरकार पनि बन्छ । ऋषि धमलासँगको अन्तवार्ताको सम्पादित अंश



प्रतिक्रिया दिनुहोस्