Logo

‘प्रदेश ५ को नाम र राजधानी आगामी हिउँदे अधिवेशनमा टुँग्याईने’



पुस २९,बुटवल । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश नम्बर पाँचको नाम र राजधानी हिउँदे अधिवेशनबाट टुङ्गाईने बताएका छन् । उनले भने, ‘प्रदेश सभाबाट गठित प्रदेशको नामाकरण र केन्द्र निर्धारण गर्ने विशेष समितिले प्रतिवेदन बुझाएको छ, त्यो प्रतिवेदन प्रदेशको आगामी माघ ५ गते हुने ५ औं अधिवेशनमा प्रस्तुत हुन्छ । सोही प्रतिवेदन अनुसार प्रदेश ५ को नाम र स्थायी राजधानी घोषण गरिनेछ ।’

सचेतक ढकालले प्रदेश सभाको यो बिषयलाई पार्टीलाई ह्विप नलाग्ने बताउँदै प्रदेश सभाकै एकताबाटै राजधानी तय गर्ने बताए । उनले प्रदेशका १२ वटै जिल्लाका जनतालाई अपनत्व गर्ने किसिमले राजधानी तय गर्ने जीकिर गरे ।

रिपोर्टर्स ५ नं प्रदेशले मंगलबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै ढकालले प्रदेश सभाबाट गठित समितिले १२ वटै जिल्लामा राजनीतिक दल, समाजसेवी, बुद्धिजीविहरुसंग राय–सुझाव लिएको बताउँदै संकलन भएको सुझावलाई हेरेर प्रदेशको नाम र राजधानीको टुङ्गो गर्ने बताए । उनले माघ ४ गते संसदीय दलको बैठक बस्ने समेत जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामाकरणको बिषयमा धेरै छलफल र बहस भैसकेकोले यसलाई कुनै हालतमा पनि आउदो बैठकबाट टुंगो पर्ने धारणा राखिन् । उनले भनिन्,”राजधानी बनाउदा दीर्घकालीन र प्रदेशले थेग्ने सक्ने संचरना हुनुपर्छ ,सबै नयाँ समरचना बनाउदा धेरै आर्थिक भार लाग्ने हुँदा बनेको संरचनालाई नबिगार्न आग्रह गर्दछु ।”

उनले कांग्रेसको पहिलो एजेण्डा भनेको प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाउने बताइन् । उनले भनिन्, ‘आगामी माघ ५ गते हिउँदे अधिवेशनको शुभारम्भ हुदैँछ र कांग्रेसको पहिलो एजेण्डा भनेको प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाउने बिषय हो ।’

उनले सरकारले राजधानी तय गर्न पहिले प्रदेश सभाबात राजधानी सुझाब बिशेश समिति बनाएर पठाएको र फेरी अर्को बिज्ञहरुको उपसमिति बनाउदा ढिलो हुन पुगेको बताइन् । उनले अस्थायी राजधानी र नामाकरणको बिषयमा समय थपिनु नहुनेमा जोड दिइन् ।

कार्यक्रममा समाजवादी पार्टीका सचेतक सन्तोष कुमार पाण्डेले गौतम बुद्धको भूमि लुम्बिनीलाई नै प्रदेशको नामाकरण गर्नुपर्ने बताए ।

उनले भौतिक पूर्वाधार सम्पन्न रहेको हालको अस्थायी राजधानी बुटवललाई नै स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिए । कुनै हालतमा पनि राजधानी अन्यत्र नजाने बताए । कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्