Logo

अख्तियारको छानबिनमा रहेकाहरु पुरस्कृत



काठमाडौं, २९ पौष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितताको आरोपमा बिस्तृत छानबिन गरिरहेका नारायण ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः विभागको महानिर्देशकको जिम्मेवारी दिएको छ । औषधि ब्यवस्था विभागको महानिर्देशकका रुपमा करोडौं घुस लिएर गलत औषधि सिफारिस गरी अनियमितता गरेको उजुरीमा उनीमाथि अख्तियारले छानबिन गरिरहेको छ ।

गगन थापाले महानिर्देशक बनाएका ढकालले विभागमा औषधि आयात गर्ने कम्पनीलाई अनुमति दिने क्रममा बार्षिक दसौं करोड रुपैयाँ अनियमितता गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विभिन्न निकायमा परेको छ । र, छानबिन पनि भइरहेको छ । २०७५ असारमा तत्कालीन स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले उनलाई विभागको जिम्मेवारीबाट हटाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाइन् । तर मुख्यसचिव लोकदर्शन रेग्मीले उक्त प्रस्ताव दर्ता नै नगरी उनलाई संरक्षण गरेका थिए । मुख्यसचिव रेग्मीले संरक्षण गरे पनि उपेन्द्र यादव स्वास्थ्य मन्त्री भएको केही महिनामा उनको सरुवा भयो । तर उनले सरकारलाई चुनौती दिंदै सर्वोच्च अदालतमा रिट हाली अन्तरिम आदेश ल्याएर महानिर्देशकको कुर्सीमा बसे । पछि अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि उनी विभागबाट हटाइएका थिए ।

महानिर्देशक ढकालले विभागबाट औषधि उद्योगको अनुगमनदेखि प्रत्येक काममा आर्थिक चलखेल गर्दै आएका छन् । ढकालले २०७५ मा औषधि ब्यवस्था विभागबाट विदेशी औषधि आयात गर्नका लागि ३७ वटा कम्पनीलाई अनुमति दिने क्रममा ठूलो आर्थिक चलखेल गरेको उजुरी अख्तियारमा छ । त्यही उजुरीमा अख्तियारले छानबिन गरिरहेको छ । विभागले हरेक बर्ष औषधि आयातका लागि विदेशी कम्पनी छनोट गर्दैआएको छ । यसरी कम्पनी छनोटका क्रममा विभागका महानिर्देशक ढकालले पहिले नै सेटिङ गरी ती औषधि उत्पादन गर्ने उद्योगको निरीक्षणमा टोली पठाउने गर्दछन् । जुन जुन कम्पनीले उनलाई भनेअनुसार घुस दिन्छन्, निरीक्षण टोलीलाई त्यही औषधिको उत्पादन ठीक छ भनेर सिफारिस गर्न लगाउने र तिनैलाई अनुमति दिने गरेको आरोप पनि ढकालमाथि छ ।

सुरुमा ३६ वटा कम्पनीमात्र छनोट भएकोमा पनि बीचमा ठूलो आर्थिक चलखेल गरी महानिर्देशक ढकालले अर्का कम्पनीलाई पनि अनुमति दिएको आरोप लागेको थियो । जुन कुरा टिप्पणी उठाउने मातहतका शाखाका कर्मचारीले पनि पछि मात्र थाहा पाएका थिए । अख्तियारले छानबिन गरिरहेका ढकाललाई पुनः महानिर्देशक बनाउने काम नेकपाका मन्त्री भएको बेलामा भएको छ । ढकाललाई विभागमा महानिर्देशकमा फर्काउनका लागि औषधि कारोबारीहरुले नै प्रभावित पारेको स्रोत बताउँछ ।

त्यस्तै, स्वास्थ्य मन्त्रालयले कोशी अस्पताल बिराटनगरका मेडिकल सुपरिटेन्डेन्ट डा. गुणराज लोहनीलाई मन्त्रालयमा काजसरुवा गरेको छ । उनी १२ औं तहमा बढुवा भएर मन्त्रालयको सचिव हुने खेलमा लागेका छन् । मन्त्रालयका औषधि र उपकरण माफियाहरु उनलाई सचिव बनाउनका लागि जति पनि खर्च गर्ने भनेर लागेका छन् । डा. लोहनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा ४० लाख मूल्य पर्ने इन्टिग्रेटेड वेष्ट म्यानेजमेन्ट अटोक्लेभ मेसिनलाई २ करोड रुपैयाँमा खरिद गरेको आरोप लागेको छ । ३ करोड ४६ लाख मूल्यको जीवनजल खरिद गर्दा ६० लाख भ्रष्टाचार गरेको आरोप छ । ६० लाखको जीवनजल नै नल्याई भुक्तानी दिएकोमा पनि अख्तियारले छानबिन गरिरहेको छ । तिनै लोहनीलाई १२ तह बढुवा गर्ने गरी तारतम्य मिलाउन लागिएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक सुनिल शर्मा ३ बर्षदेखि त्यहीँ बसेर बृत्तचित्रदेखि विभिन्न जनचेतनाको शीर्षकमा तर मारिरहेका छन् । उनी पनि मन्त्रीका आसेपासेलाई मिलाइसकेको भनी आफैं टिकिरहने कुरामा ढुक्क भएका छन् ।-दृष्टि साप्ताहिकबाट



प्रतिक्रिया दिनुहोस्