Logo

जवाफदेहीता, पारदर्शीता एवं सदाचारमा जोड दिइने



भक्तपुर, २९ पुस : चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनमा सदाचार र नगरपालिकालाई जवाफदेहीता, पारदर्शीता एवं सदाचार अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले विपद् व्यवस्थापनमा सदाचार सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै नगरपालिकालाई भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापना सम्बन्धी कार्यमा जवाफदेही, पारदर्शीता र सदाचार अभिवृद्धिका साथै नागरिक सहभागिता, खरीद व्यवस्थापन र गुनासो सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

नगरपालिकाले जवाफदेहीता, पारदर्शीता र सदाचार अभिवृद्धि गर्नका लागि विपद् व्यवस्थापन सम्बद्ध समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय कार्यढाँचा अनुकूल विपद् जोखिम न्यूनीकरण नीति बनाउने, नियम, योजना र कार्य सञ्चालन प्रक्रिया निर्माण गरी सो सम्बन्धी व्यवस्थापनका सम्पूर्ण पक्षलाई थप सरल, छरितो र समय सीमाभित्र हुने व्यवस्था मिलाउने भएको छ ।

त्यस्तै विपद् पछिको पुनःनिर्माण र पुनःस्थापनाको व्यवस्थापन कार्यसँग सम्बन्धित नागरिक बडापत्र कार्यालय परिसरमा राख्ने र कार्यान्वयनको व्यवस्था मिलाउने, विपद्पीडितलाई प्रवाह गर्नुपर्ने चुस्तदुरुस्त सेवाबारे सेवाग्राहीको धारणा, सुझाव र समय समयमा बुझ्न कार्यक्रम गर्ने, विपद्पछिको पुनःनिर्माण र पुनःस्थापना कार्य सम्बन्धमा भएका निर्णय आवश्यकता अनुसार सूचनापाटी, सार्वजनिक सूचना वा सञ्चारमाध्यममार्फत नागरिकलाई जानकारी गराउने नगरपालिकाका प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले बताए ।

उनले विपद् व्यवस्थापन साथै पुनःनिर्माण र पुनःस्थापना कार्यमा सदाचार प्रवद्र्धन गर्नुका साथै ढिलासुस्ती, भ्रष्टाचार, अनियमितता हुन नदिन आवश्यक द्रुतसेवा कार्यविधि बनाइने, विपद् व्यवस्थापन र पुनःनिर्माण सम्बन्धी केन्द्रीय नीतिअनुशरण गर्दै आफ्नो कार्यसम्पादनमा सहजता ल्याउन केन्द्रीय निकायसँग आवश्यक सहयोग लिइनेमा नगरपालिका प्रतिबद्ध रहेको बताए ।

नगरपालिकाले नेपाल सरकार अन्तर्गत विपद् व्यवस्थापनका लागि निर्माण हुने वा पुनःनिर्माणसम्बन्धी चालु र भावी कार्यको नियमित अवलोकन र मूल्याङ्कन गरी सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने र सो को जानकारी नागरिक र सरोकारवालाई दिइने, विपद्पछिको पुनःनिर्माणका कार्य करार सम्झौता अवधिभित्रै सम्पन्न गराउन निर्माण पक्ष र उपभोक्ता समिति एवं ठेकेदारलाई समय–समयमा नागरिक अनुगमनसहित सजग गराइने भएको छ ।

त्यस्तै विपद्को जोखिम, बच्ने उपाय, सुरक्षित स्थान, घरधुरी तथ्याङ्क, कार्ययोजना र बजेटमा सरोकारवाला सङ्घ संस्था तथा नागरिकको चासो एवं जानकारी बढाउन र जोखिमयुक्त वर्गको अर्थपूर्ण सहभागिता वृद्धि गर्न छलफल गरिने, सार्वजनिक सुनुवाइजस्ता कार्यक्रम गर्ने, सचेतनामूलक सूचना पाटी, होर्डिङबोर्ड, डिस्प्ले बोर्ड राख्ने, गुनासो सुन्न, सुलभ स्थानमा गुनासो पेटिका राखिने, विपद् पीडितबाट गुनासो सङ्कलन गर्ने व्यवस्था गर्दै ती गुनासो तोकिएको समयभित्र सम्वद्ध कार्यालय प्रमुखको जानकारीमा ल्याई समाधान गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्