Logo

‘गोकर्ण रिसोर्ट बेच्नेबारे केही उल्लेख नगर्ने, प्रदेश २ लाई भ्रष्ट देखाउने ?’



काठमाडौं, २९ पौष । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत केन्द्र सरकारको कडा आलोचना गर्दै आएका छन् । उनले पछिल्लो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश दुईमा बढी भ्रष्टाचार भएको तथ्यांक सार्वजनिक गरेकोलाई प्रायोजित भनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बुझाएको अख्तियारको प्रतिवेदनपछि अख्तियारलाई कडा चुनौती दिदै गोकर्ण रिपोर्ट कौडीको भाउमा बेच्नेमाथि छानविन गरी कारबाही गर्न चुनौती दिएका छन् । वाइडबडी खरिद देखि गम्भीर भ्रष्टाचारमा छानविन गरी कारबाही गर्न समेत चुनौती दिएका छन् । राउतसँग यसै विषयमा ऋषि धमलाले गरेको कुराकानीः

अख्तियारको प्रतिवेदनमा प्रदेश नं. २ मा सबैभन्दा बढी भ्रष्टाचारको तथ्यांक आयो नि ?
प्रदेश सरकारले जुन जिम्मेवारी लिनुपर्ने हो, हामीले त्यसको दायित्व बोकेका छौं । जुन प्रतिवेदन आएको छ, उस्तै प्रदेश नं. ३ मा पनि छ । त्यसमा प्रदेश नं. २, लाई बढी प्रायोजित ढंगले र षड्यन्त्रमूलक किसिमले ल्याइएको छ । त्यस्तो भ्रष्टाचारी हो भने यो प्रदेशभित्रका जति पनि निकायहरु छन् । जस्तो प्रदेश सरकार, स्थानीय सरकारमा आउने पैसामा सही गर्नेहरु त्यही हिजो सिंहदरबारको नीति नियम बनाउने र शक्तिकेन्द्र चलाउनेहरु होइनन् ?
अख्तियार दूरुपयोग अनुसन्धानले प्रदेश नं. २ मा अन्तभन्दा बढी भ्रष्टाचार भयो भनेको छ नि ?
प्रदेश २ मा त हाम्रो सरकार छ । १३६ पालिकालाई आफ्नो अधिकार भनिएको छ । त्यसैले म के भन्छु भने हाम्रो प्रदेशलाई प्रायोजित ढंगले राखिएको छ । समाचारमा त यो मुलुक भ्रष्टाचारै भ्रष्टाचार भनेर पनि आएको छ नि । बालुवाटारको जग्गा खानेहरु, गोकर्ण रिसोर्ट बेच्नेहरुलगायत विभिन्न काण्डैकाण्ड भएकाहरुको त्यसमा उल्लेख छ कि छैन । त्यसले मलाई के लाग्छ भने जति ठूलो योजनाहरु छन् । ती सबै प्रधानमन्त्रीबाट सञ्चालन भइराखेका छन् । त्यो रिपोर्टमा धेरैजसो कुरा प्रायोजित हिसाबले ल्याइएको छ ।
अख्तियारको प्रतिवेदन हेर्दा त जनप्रतिनिधिहरु भ्रष्टाचारमा लिप्त भएको देखिन्छ नि ?
त्यहाँ जनताका प्रतिनिधिहरु होइनन् । यही प्रदेशको कुरा गर्ने हो भने पनि निकासा गर्ने ठाउँमा को रहेछन् त ? उनीहरुमा पहिलाको जुन मानसिकता थियो त्यो बदलिएको छैन । त्यसैले भ्रष्टाचार गर्ने जनताको प्रतिधिनि होइन, जनप्रतिनिधिले चेकमा साइन गर्छ र ? चेकमा साइन गर्ने कुन ठाउँमा कति निकासा गर्ने भनेका त कर्मचारीहरु हुन् हिजोको मानसिकता बोकेका ।
अख्तियारले त राष्ट्रपति समक्ष प्रदेश र स्थानीय सरकारमा भ्रष्टाचार झांगियो भनेको छ नि ?
त्यसमा उहाँहरुले कुन विषयमा भन्नुभएको छ । यसमा मलाई कुनै टिकाटिप्पणी गर्नुछैन । प्रदेश ३ काठमाडौंमा कति भन्न सक्नुहुन्छ ? सबैभन्दा महंगो र महत्वपूर्ण ठाउँ हो ।
प्रदेश नं. ३ मा त सबैभन्दा कम देखिएको छ नि ?
कहाँ हेर्नुभएको छ तपाईंंले । अलि राम्रोसँग रेकर्ड हेर्नुस् त । प्रदेश नं. ३ र २ मा उस्तैउस्तै होइन । मैले अख्तियारका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका सदस्य, महाखेलाका प्रतिनिधिहरु, १३६ पालिकाका प्रमुख, उपप्रमुखहरु बोलाएर मैले निर्देशनै दिन लगाएँ । त्यसमा मैले कसरी स्थानीयतहमा सुशासन कायम गर्ने कसरी पारदर्शिता अपनाउने, कसरी जवाफदेहीता हुने भनेर छलफल बसह गराएँ । म च्यालेन्जका साथ भन्छु । कुन प्रदेश मुख्यमन्त्री होला जुन अख्तियार प्रमुख, महालेखा, राष्ट्रिय योजना आयोग र जनप्रतिनिधिलाईलाई राखेर खुला रुपमा छलफल बसह गराउने ।
प्रदेशमा भ्रष्टाचार रोक्न मुख्य लाग्नुपर्यो नि ?
अहिले नै भन्छु । सातवटामा कुनै पनि प्रदेशले सुशासन सम्बन्धी विधेयक बानाएको छैन । एउटा पावरपूmल कमिटी बनाएर कारबाही गर्न सक्ने विधेयक अहिले सदनभित्र छ । मुलुकमा भ्रष्टाचारका बहाना बनाएर विरासतको राजनीति गर्न खोजिएको छ । मुलुकै भ्रष्टाचारीहरुको सुचिमा अगाडि हुँदैछ ।
जनप्रतिनिधिहरु नीतिगत भ्रष्टाचारमा लागे नि ?
मुलुकै भ्रष्टाचार प्रदेश नं. २ ले गरेको हो । यत्रो काण्डैकाण्डमा केन्द्र सरकार फेसेको छ । जस्तो वाइडवडी, गोकर्ण रिसोर्ट, बालुवाटार जग्गा प्रकरण, सुनकाण्ड, एनसेल काण्ड यसरी काडैकाण्डले मुलुक भरिएको छ । यी कुरा त्यो प्रतिवेदनमा आएको छ कि छैन । मिति नै नआइकन गोकर्ण रिसोर्टलाई कौडीको भाउमा बेच्ने काम भइराखेको छ । त्यो कुरा आएको छ, त्यसमा ? त्यसैले प्रदेश नं. २ लाई पूर्वाग्रही ढंगले भ्रष्टाचारीमा इंडिकेड गरिएको छ । त्यो सरासर पूर्वाग्रहपूर्ण आरोप हो । प्रदेश ३ लाई हेर्नुस् न । प्वाइन्टमा फरक पारेर कम देखाउन पाइन्छ । कसैले उजुरी दिएर छानविन होस् । उजुरी दिँदैमा त्यो भ्रष्टाचारी हुन्छ र । भ्रष्टाचार हो भने कारबाही हुनुपर्छ ।
अबदेखि त्यहाँ भ्रष्टाचार हुनुभएन नि ?
मैंले सुशासनको लागि कानुन निर्माण गर्न सदनमा पेश गरिसकेको छु । सदन चलेपछि सबैभन्दा पहिला पास हुने त्यही हो । हामीले यहाँ के गर्दा सुशासन दिन सकिन्छ भनेर ब्यापक रुपमा बहस, छलफल गर्ने गरेका छौं । मैले राम्रो काम गर्दागर्दै ‘जो होचो, उसको मुखमा घोचो’ भन्ने चरितार्थ यहाँ थोपरिएको छ । त्यसैले यहाँ पूर्वाग्रही ढंगले त्यो प्रतिवेदन ल्याइएको हो ।
जनताले तपार्इंहरुलाई विकास मारेर पैसा कमाउन भोट दिएका होइनन् ?
हामी यो मुलुकमा विकास, समृद्धि र सुशासनका लागि काम गरिरहेका छौं । त्यसैको लागि नै हामीलाई जनताले मत दिएर पठाएका हुन् । सधैंभरी जनताका कामका लागि हिड्नु जनप्रतिनिधिको कर्तव्य हो । जनचाहना अनुसार हिड्दैन भने उसलाई शासन गर्ने अधिकार छैन ।
त्यसो भए प्रदेश नं. २ को सरकार ढल्दै छ, राजपा नेकपासँग मिलेर जाँदै छ सही हो ?
राजपा एउटा अलग पार्टी हो । हिजो हामी राजपा र समाजवादी फोरम मिलेर चुनाव लड्यौं । जनताको म्यान्डेट अनुसार प्रदेश नं. २ मा हामीले सरकार पनि बनायौं । दुवै पार्टीको मिलनबाट नै यहाँ सरकार चलिराखेको छ । राजपा स्वतन्त्र छ, उहाँहरु पनि स्वतन्त्र हुनुहुन्छ । अहिलेसम्म हामी गठबन्धनमा छौं । हिजो त्यही नेकपाले भनेको थियो । तपाईंहरु राजपालाई छाड्नोस् हामीसँग मिलेर सरकार बनाऔं भन्दा हाम्रा मानीय उपेन्द्र यादवजीले स्वीकार गर्नुभएन । यो प्रदेशको हकमा जनताको म्यान्डेट भनेको राजपा र समाजवादी फोरम मिलेर जानुको विकल्प छैन । यहाँका जनताको चाहना पनि त्यही नै हो । त्यसैले बाहिरका उडन्ते कुरामा नलागौं ।
राजेन्द्र महतोले त २ नं. प्रदेशको सरकार फेरबदल हुन्छ भन्नुभएको छ नि ?
त्यो हुन सक्नुहुन्छ । उहाँको पार्टी स्वतन्त्र छ । तर म भन्न चाहन्छु । सरकार फेरबदलका हावादारी कुराहरु छोड्नु्स । त्यस्तो हुँदैन ।
कसरी हावादारी हुन्छ तपाईलाई मुख्यमन्त्रीबाट हटाइयो भने के गर्नुहुन्छ ?
म मुख्यमन्त्री लोकसेवाको जाँच दिएर भएको हो र ? यो जबसम्म दुवै पार्टीको सहमति छ । त्यो सहमति अनुसार नै म हिँडेको छु । म समाजवादी पार्टीको एकल मुख्यमन्त्री होर । यो दुई पार्टीहरु मिलेर बनेको छ । अहिले सरकार र नेकपासँग सहमतिमा भागेदार भएर हिड्नुभएको त्यो दुवै पार्टी मिलेर गरेको होइन । हामीसँग २-४ सिट बढी भएकाले हामीले मुख्य मन्त्री पाएका हौं । उहाँहरुसँग बढी सिट भएको भए उहाँहरु नै मुख्यमन्त्री हुनुहुन्थ्यो ।
राजपाले समर्थन फिर्ता लिन सक्छ नि ?
जब दुवै पार्टीको सहमतिमा उहाँहरु जुन मन्त्रालयको जिम्मेवारी लिइरहनु भएको छ भने किन किन त्यसो गर्छन् । २ नम्बर प्रदेशका सबै मन्त्रालय समाजवादी पार्टीले नेतृत्व गरिरहेको छ । म मुख्यमन्त्री मात्रै न छु । त्यसैले दुवै पार्टी जब एकढिक्का रहन्छ तबसम्म यो सरकार कसैले ढाल्न सक्दैन ।



प्रतिक्रिया दिनुहोस्