Logo

पुँजी बजारमा संरचनात्मक परिवर्तन भइरहेको छ : अर्थमन्त्री खतिवडा



काठमाडौं २९ मङ्सीर । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजारमा संरचनात्मक परिवर्तन भइरहेको बताएका छन् । नेपाल स्टक एक्सचेञ्जको २७ औँ वार्षिकोत्सवमा अर्थमन्त्री खतिवडाले शेयरमा लगानी गरेका लगानीकर्ताले लामो र झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्नेमा अहिले धेरै परिवर्तन भइसकेको बताएका हुन् ।

सरकारले विगत दुई वर्षमा पुँजीबजारसँग सम्बन्धित धेरै विषयमा सरकारले सुधार गरिरहेको उनले बताए । उनले नियामक र सञ्चालकबीच सामान्य विवाद हुनु सामान्य भएको टिप्पणी गरे । खतिवडाले लगानीकर्तालाई वित्तीय साक्षर बनाउने काम वित्तीय प्रणालीबारे जानकारी राख्ने सबैको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे ।

धितोपत्र कारोबारले मात्रै बजार गतिशील नहुने भन्दै उहाले ऋणपत्रको कारोबार बढाउनुपर्ने जिकिर गरे । कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले पुँजी बजारमा योजनाबद्ध र चरणबद्ध सुधार आवश्यक रहेको उल्लेख गरे ।

यसअघि मंगलबार नै बसेको कम्पनीको वार्षिक साधारणसभाले प्रस्तावित ४० प्रतिशत नगद लाभांश पारित गरेको छ । हाल नेप्सेको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ४० प्रतिशतका दरले शेयरधनीलाई २० करोड रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्