Logo

माघे संक्रान्ति मेला शुरु, पाँच लाख भक्तजन आउने अनुमान



काठमाडौँ, १ माघ । धार्मिक क्षेत्र देवघाटमा मंगलबारबाट माघे संक्रान्ति मेला शुरु भएको छ । हरेक वर्ष माघे संक्रान्तिका अवसरमा लाग्ने माघे संक्रान्ति मेला यस वर्ष पनि मंगलबारबाट शुरु भएको हो ।

माघे संक्रान्तिका दिन देवघाटमा स्नान गर्न आउने भक्तजनको ब्यवस्थापनका लागि अघिल्लो दिन पुस मसान्तदेखि नै देवघाटमा माघे संक्रान्ति मेला लाग्ने गर्दछ । यस वर्ष ओमकार लेखिएको ध्वजा बाँधिएको बाँसको अग्लो लिङ्गो देवघाटको वेनीमा गाडेर देवघाट मेलाको उद्घाटन गरिएको छ । हरिहर सन्यास आश्रमका पिठाधिश ज्ञाननन्द सरस्वती महाराजले मेलाको धार्मिक परम्पराले देवघाट मेलाको उद्घाटन गरेको हो । प्रत्येक वर्षको मकर सक्रान्तीको अवसरमा लाग्ने मेलाको मंगलबार विहान विधिवत सुरुवात गरियो । तनहँुको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित कालिगन्डकी र त्रिशुलीनदीको संगम स्थलमा बासको लिङ्गो गाडी मेलाको सुरुवात गरिएको थियो ।

दामोदर कुण्डबाट बगेर आउने कालीगन्डकी र गोसाईकुण्डबाट बगेर आउने त्रिशुली नदीको संगम देवघाटमा प्रत्येक वर्षको मकर संक्रान्तिमा मेला लाग्ने गर्छ । कालीगन्डकी र त्रिशुलीको संगममा स्नान गर्न देश तथा विदेशबाट लाखौं भक्तजन देवघाट आउने गर्छन् । यस वर्ष मेलामा करिब पाँच लाख भक्तजन आउने अनुमान गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए । मेलामा आउने भक्तजनलाई सहजरुपमा स्नान गर्न सक्ने व्यवस्था मिलाईएको अध्यक्ष पौडेलले बताए । मेला व्यवस्थापनकोलागि समितिले तनहुँ, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय, तथा सरोकारवालासँग समन्वय गरिएको समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेले बताए ।  मेलालाई भव्य रुपमा सम्पन्न गरि समितिका अध्यक्ष पौडेलको संयोजकत्वमा मुल समिति र २२ वटा विभिन्न समितिहरु गठन गरिएका छन् ।

भक्तजनको सुरक्षाकोलागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरि पाँच सय भन्दा बढि सुरक्षाकर्मी परिचालन गरिएको छ । मेला अवधिभर देवघाट क्षेत्रमा मांस मदिरा निशेध गरिएको कार्यकारी निर्देशक घिमिरेले जानकारी दिए ।  त्रिशुली नदीको चितवन तर्फको भागबाट तनहुँ तर्फ रहेको बेणीसँगममा जान आउन ४० वटा डुंगाको व्यवस्था मिलाईएको छ । स्नानको क्रममा कुनै दुर्घटना हुन नदिन नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बोटे जातीका स्वयंसेवक परिचालन गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।
गोरखापत्र अनलाइनबाट



प्रतिक्रिया दिनुहोस्