Logo

मनभित्रका छाउगोठ भत्काए संरचना आफैं ढल्छन्



काठमाडौँ, १ माघ । एक साताअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–६ ब्युरेनीबाट छाउगोठ (महिला महिनावारी हुँदा बस्ने ठाउँ) भत्काउने अभियान सुरु ग(यो। छाउगोठ भत्काउने अभियान अहिले पनि पश्चिम सुर्खेतमा निरन्तर चलिरहेको छ। देखिने छाउगोठ भत्काइरहे पनि मनभित्र रहेका त्यस्ता गोठ अझै भत्किएका छैनन्।

बराहतालको चौरस्थित मिमसरा गिरीको छाउगोठ सरकारी टोलीले शनिबार भत्कायो। उनलाई महिनावारी भएको तीन दिन भएको थियो। सरकारले कारबाही गर्ने डरले छाउगोठ भत्काइए पनि उनको परिवारले कुनै प्रतिवाद गरेन। ‘तीन दिनमात्रै भएकाले मलाई घरभित्र पस्न दिइएन,’ उनले भनिन्, ‘आँगनमै स्याउलाले बारेर बसेकी छु।’ महिला समूह र सहकारीमा आबद्ध उनलाई छाउ बार्नुहुन्न भन्ने जानकारी नभएको होइन। ‘सहरतिर जाँदा छाउ बार्दैनौं, घरमा सासूससुरा हुनुहुन्छ,’ उनले थपिन्, ‘बाहिर बस्न रहर नभएर हाम्रा लागि बाध्यता हो।’ छाउगोठमा बस्न बाध्य महिला धामी, पुरोहित र पाका मानिसको मनभित्रको छाउगोठ नहटाउँदासम्म यो कुप्रथा अन्त्य नहुने बताउँछन्। ‘यसअघि पनि छाउगोठमुक्त अभियान चलाइएको हो तर प्रभावकारी भएन। भत्काएलगत्तै घरघरले छाउगोठ ठड्याए,’ मानकुमारी सुनारले भनिन्, ‘अब यो अभियान सफल पार्न मनभित्रका छाउगोठ भत्काउन सके बाहिर देखिने आफैं भत्किन्छन् भन्नेतर्फ ध्यान दिनुपर्छ।’

गृह मन्त्रालयले छाउपडी अन्त्य गर्न दिएको तीनबुँदे निर्देशनपछि अहिले सुर्खेतसहित सिंगो कर्णालीलाई छाउगोठमुक्त पार्ने अभियान जारी छ। पश्चिम सुर्खेतका बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा छाउप्रथा व्याप्त छ। एक सातामा पश्चिम सुर्खेतमा एक हजारभन्दा बढी छाउगोठ भत्काइएका छन्। छाउगोठ भत्काउने अभियानको नेतृत्व गरेका प्रजिअ वसन्त अधिकारी मानिसको मनमा वर्षौंदेखि जरा गाडेर बसेको छाउगोठ भत्काउन सकेमात्र बाहिर ठडिएका छाउगोठ भत्काएको अर्थ रहने बताउँछन्। ‘हामीले सुर्खेतलाई छाउगोठमुक्त बनाउन एक सातादेखि घरबाहिर देखिने गोठ भत्काइरहेका छौं, अबको केही दिनभित्रै जिल्लाभित्रका त्यस्ता सबै गोठ भत्किनेछन्,’ उनले भने, ‘यो मात्रै समाधान होइन, मानसिक रूपमा जरा गाडेर बसेका गोठ भत्काउन जनचेतनामूलक कार्यक्रम पनि आवश्यक छ।’

नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot