Logo

प्रसाईंले दिए उजुरी, गिरीले हाले मुद्दा



काठमाडौँ, १ माघ । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

मेडिकल कलेजको सम्बन्धनका लागि गिरीले आफूसँग २० करोड घूस मागेको दाबी गर्दै आएका उनले उजुरी दिएका हुन्। गिरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको शिक्षाध्यक्ष र स्वास्थ्य सेवा बिमा बोर्डको निर्देशक हुँदा देखिको सम्पत्ति विवरण छानबिन गरिनुपर्ने उनको माग छ। गिरीले बीएन्डसीका लागि सम्बन्धन दिन गत मंसिर १५ गते द्वारिकाज होटलमा भेटेर २० करोड मागेको आरोप प्रसाईंको छ। आफू द्वारिकाज होटल नै नगएको भन्दै आरोपको खण्डन गर्दै आएका गिरीले प्रसाईं विरुद्ध मंगलबार मुद्दा हालेका छन्। काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती तथा मानहानिको मुद्दा दर्ता गराएका हुन्। मिथ्या आरोप लगाई मानहानी गरेकाले बाध्य भएर अदालतमा मुद्दा दर्ता गराउनु परेको उनले बताए।

प्रसाईंले मंगलबारै राजधानीमा पत्रकार सम्मेलन गर्दै आफू पनि गिरी विरुद्ध अदालत जाने तयारी गरेको बताएका छन्। उनले चिकित्सा शिक्षा ऐन जारी भएर आयोग गठन भइसक्दा पनि पूर्वाधार पूरा गरेको मेडिकल कलेजलाई सम्बन्धन नदिएको भन्दै उनले असन्तुष्टि जनाए। गत मंसिर १५ मा प्रसाईं सम्बन्धनका लागि निवेदन लिएर आयोग कार्यालय पुगेका थिए। गिरीले आवश्यक कागजातसहित सम्बन्धनका लागि आवेदन दिन आग्रह गरेपछि उनीहरूबीच विवाद सुरु भएको हो।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्