Logo

सामुदायिक स्वास्थ्यसेवा सञ्चालनमा



बागलुङ, १ माघ : बरेङ गाउँपालिका–१ धुल्लुबास्कोट र २ बाटाकाचौर, साग्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको छ । ग्रामीण भेगमा स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउन गाउँपालिकाको आर्थिक एवं प्राविधिक सहयोगमा एकाइ स्थापना गरिएको हो ।

सर्वसाधारणलाई वडामा रहेका स्वास्थ्य चौकी पुग्न अपायक भएपछि स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । “सामान्य उपचारका लागि पनि एक-डेढ घण्टा हिँडेरै जानुपर्ने अवस्था अन्त्यका लागि स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएका हौँ”, उनले भने । स्वास्थ्य एकाइ राख्दा घना बस्ती र सबैलाई पायक पर्ने ठाउँ रोजिएको छ ।

साग्दी साविक बाटाकाचौर गाविस वडा नं. १, ७, ८ र ९ को केन्द्र हो । धुल्लुबास्कोटको गडेल पनि साविकका तीन वडाको केन्द्र मानिन्छ । स्वास्थ्य चौकी पायकमा नभएका बस्तीका सर्वसाधारणलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने सरकारी नीति नै छ ।

स्वास्थ्य एकाइ सञ्चालनका लागि स्वास्थ्य मन्त्रालयले स्वीकृत प्रदान गर्नुपर्छ । दुवै वडामा यसअघि रहेका खोप केन्द्रका भवनलाई थप व्यवस्थित गरी स्वास्थ्य एकाइ सञ्चालन गरिएको वडाले जनाएको छ । वडा कार्यायलले स्वास्थ्य एकाइलाई रु. दुई लाख बराबरका स्वास्थ्य उपकरण तथा सामग्रीसमेत प्रदान गरेको छ ।

प्रभावकारी सेवा प्रवाहका लागि एकाइ सञ्चालन तथा व्यवस्थापन समिति गठन गरी काम थालिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताए । स्वास्थ्य एकाइमा दुई अहेबसहित कार्यालय सहयोगी रहनेछन् । केही महिनाअघि गाउँपालिकाकै हुग्दीशीर, बराहकोटमा पनि सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याइएको थियो ।



प्रतिक्रिया दिनुहोस्