Logo

मगर र गुरुङ संस्कृति जोड्दै अल्ट्रा म्याराथन



दमौली, १ माघ  : तनहुँको व्यास नगरपालिका–५ मानहुँ र व्यास नगरपालिका–८ पुलिमराङको दुई जातिको संस्कृति जोड्न व्यास अल्ट्रा म्याराथन सफल हुने विश्वास गरिएको छ । मगर जातिको बाक्लो बसोबास रहेको मानहुँ र गुरुङ जातिको बसोबास रहेको पुलिमराङलाई खेलकूदको माध्यमबाट जोड्ने उद्देश्यसहित व्यास नगरपालिकाले तीन वर्षदेखि अल्ट्रा म्याराथनको आयोजना गर्दै आएको छ ।

पहिलो वर्ष वैशाख १ गतेको दिन अल्ट्रा म्याराथन आयोजना गरेको नगरपालिकाले गत वर्ष शहीद दिवसको अवसर पारेर माघ १६ गते म्याराथनको आयोजना गरेको थियो । उक्त म्याराथनलाई नगरपालिकाले यस वर्ष पनि निरन्तरता दिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए । “मगरको गाउँ मानहुँ र गुरुङको गाउँ पुलिमराङलाई जोड्न अल्ट्रा म्याराथनले सहयोग पुग्ने विश्वास गरेका छौँ”, नगर प्रमुख न्यौपानेले भने, “खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतियोगिता गरेका हौ ।”

प्रचुर पर्यटकीय सम्भावना बोकेको मानहुँ विकासको गतिमा अगाडि बढिसकेको र शहीदको गाउँ पुलिमराङमा पनि शहीद उद्यानलाई व्यवस्थित गराइएको नगर प्रमुख न्यौपानेले बताए । उनका अनुसार मानहुँमा यसै वर्ष दृश्यावलोकन स्तम्भ निर्माणको प्रक्रिया अगाडि बढाइएको छ भने पुलिमराङको शहीद उद्यानलाई व्यवस्थित गरिएको छ । शहीद दिवसको दिन नै पुलिमराङको शहीद उद्यानको अनावरण गर्ने कार्यक्रमसमेत रहेको नगर प्रमुख न्यौपानेले बताए ।

म्याराथनमा देशभरबाट धावकहरु सहभागी हुने र धावकलाई पनि यी दुई गाउँको रीतिरिवाज र संस्कृतिबारे बुझ्ने अवसर प्राप्त हुने उनले बताए । “म्याराथन खेलकूद मात्रै नभई दुई जातिबीचको संस्कृति बुझ्नका लागि महत्वपूर्ण कडी हुनेछ”, न्यौपानेले भने । व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिनेछ ।

प्रतियोगिताका लागि माघ १४ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने बताइएको छ । प्रतियोगिता प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः रु ८१ हजार ७६, ६१ हजार ७६ र ५१ हजार ७६ प्रदान गरिनेछ भने सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ७६ प्रदान गरिने प्रतियोगिता संयोजक एवं व्यास नगरपालिका–९ का अध्यक्ष सुरेश थापाले जानकारी दिए ।

गत वर्ष १६ वर्षदेखि ५९ वर्षसम्मका ८७ जना धावकले प्रतियोगितामा सहभागिता जनाएका थिए । यस वर्ष धावक अझै बढ्ने अनुमान गरिएको छ । गत वर्ष नेपाली सेनाका खगेन्द्रबहादुर भाटले उक्त दूरी दुई घण्टा ५३ मिनेटमा पूरा गरी प्रथम हुन सफल भएका थिए । प्रतियोगिता सम्पन्न गर्नका लागि करीब १३ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालन गर्नका लागि नगरप्रमुख न्यौपानेको संयोजकत्वमा मूल समिति, उपप्रमुख मीरा जोशीको संयोजकत्वमा अनुगमन समिति, व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचारप्रसार समिति गठन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्