Logo

युक्रेनी जहाज खसाल्न दुईवटा मिसाइल हानिएको भिडियो



इरानले युक्रेनी यात्रुवाहक जहाज खसाल्दा दुईवटा मिसाइल हानेको खुलेको छ । भुलवश भएको घटनामा ३० सेकेन्डको अन्तरालमा ती मिसाइल हानिएका थिए । दुवै मिसाइलले विमानलाई लागेको थियो ।

पहिलो मिसाइल ठोक्किएको आवाज आएको थियो । त्यसपछि अर्को मिसाइल ठोक्किदा विमानमा आगो लागेको दृश्य देखिन्छ । आगलागीपछि पनि विमान केही बेर उडिरहेको थियो । त्यसपछि ठूलो आवाजका साथ बिष्फोट भएको सुनिन्छ ।

सनसनीपूर्ण भिडियो आएपछि विमान कसरी दुर्घटना भयो भन्ने अझ प्रष्ट भएको छ । यसअघि क्यानडाले इरानी मिसाइलले विमान खसेको जनाएको थियो । त्यसपछि इरानको राष्ट्रिय टेलिभिजनले इरानको सैनिकलाई उदृत गर्दै भुलबश मिसाइलले हानेर खसालेको जनाएको थियो । इरानको रिभोलुसनरी गार्डको संवेदनशील क्षेत्र नजिक विमान पुगेपछि मिसाइल हानिएको उल्लेख गरिएको थियो । इरानी सेनाले पनि भुलवश घटना भएको बतायो । यसले इरानमा ठूलै तनाव भयो । घटनामा दोषी सैनिकलाई पक्राउ गरिएको इरानले जनाइसकेको छ ।

१७६ यात्रु र चालकदलका सदस्य मारिएको युक्रेनको जहाज दुर्घटनाको कारणबारे विभिन्न आशंका उब्जिएको थियो । तेहरानबाट युक्रेनका लागि गत हप्ताको बुधबार उडेको जहाज अमेरिका र इरानबीचको तनावका बखत मिसाइल लागेर झरेको अनुमान गरिएको थियो ।-एजेन्सी

 



प्रतिक्रिया दिनुहोस्