Logo

निमित्तका भरमा चल्दैछन् छवटा विश्वविद्यालय



काठमाडौँ, २ माघ । विगत पाँच महिनादेखि मुलुकका छवटा विश्वविद्यालय निमित्तका भरमा चल्दै आएका छन् । नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा गएको भदौदेखि उपकुलपति पद रिक्त हुँदै आएको छ ।

नेपालको विश्वविद्यालयको इतिहासमा पहिलोपटक उपकुलपति नियुक्तिका लागि आवेदन माग गर्ने अभ्यास यसैपटकबाट थालिएको हो । छनोट समितिले आवेदन दिएकामध्येबाट पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि एक महिनाअघि नै तीन, तीन जनाको नाम कुलपति (प्रधानमन्त्री) समक्ष सिफारिस गरिसकेको थियो । कृषि तथा वन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयका लागि सिफारिस गरिने व्यक्तिको नाम अझै छनोट हुन सकेको छैन । नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको छनोट समितिका संयोजकसमेत रहनुभएका राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा. उषा झाले भने, “सरकारको प्राथमिकतामा अरू काम परेकाले उपकुलपति नियुक्त नभएको हुनसक्छ । ” उपकुलपति रिक्त भएका कतिपय विश्वविद्यालयका रजिष्ट्रारको पदावधि सकिएको छ भने कतिपयको म्याद सकिँदैछ । कानुनी रूपमा निमित्तलाई विश्वविद्यालय सञ्चालनका सम्पूर्ण अधिकार दिइएको हुँदैन । कामचलाउ रूपमा मात्र विश्वविद्यालयका नियमित कार्य गरिँदै आएको छ । नेपाल संस्कृत विश्वविद्यालयका निमित्त उपकुलपति प्राध्यापक रमेश ढकालले निमित्तको अधिकार कामचलाउ मात्र हुने बताउँदै भने, “जिम्मेवारी दिइएपछि त्यसैअनुरुप जिम्मेवारी निर्वाह गर्दै आएको छु तर विशेष काम गर्न समस्या हुन्छ । विशेष अधिकार केही पनि हुँदैन । कामचलाउ मात्र हो । ”

कृषि तथा वन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी पाउनुभएका प्रा.डा. शारदा थपलियाले दीर्घकालीन योजना बनाएर अगाडि बढ्न समस्या भइरहेको बताए । कृषि तथा वन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. कैलाशनाथ प्याकुरेलले पाँच महिना बित्दा पनि उपकुलपति नियुक्त गर्न नसक्नु लाजमर्दो भएको बताउँदै थपे । “हरेक विश्वविद्यालयका पदाधिकारीको अवधि कहिले सकिँदैछ भनेर सरकारलाई पूर्वजानकारी हुन्छ । ती पदाधिकारीको अवधि सकिन १५ दिनअघि नै नयाँ पदाधिकारी नियुक्त गर्नुपर्दछ । ” सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. जयराज अवस्थीले निमित्त उपकुलपतिले चाहेर पनि धेरै काम गर्न सक्दैनन् भने । “पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा शैक्षिक संस्थामा राजनीति भयो भन्ने चिन्ता थपिदिएको छ”, उनले भने, “सरकारले किन नियुक्तिमा ढिलाइ गरिरहेको छ भन्ने बुझ्नै सकिएन । ”
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्