Logo

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : सेनाको विस्फोटक पदार्थ नलिइने



काठमाडौँ, २ माघ । नेपाली सेनाले यही वर्ष उत्पादन थाले पनि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ भने भारतबाट ल्याइने भएको छ । विस्फोटक पदार्थ ल्याउन पाँच महिनाभन्दा बढी लाग्नेछ । सुरुङमार्ग निर्माण आयोजना कार्यालयले विस्फोटक पदार्थ खरिदको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ । जेठदेखि सुरुङको काम हुने भएकाले पहिलो चरणमा खरिद इजाजत लिने प्रक्रिया अघि बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गृह र रक्षा मन्त्रालय हुँदै सैनिक मुख्यालयमा इजाजतका लागि पत्र पठाएको आयोजना कार्यालयले जानकारी दिएको छ । इजाजत पाएको पाँच महिनाभित्र विस्फोटक पदार्थ आउनेछ । ‘आयोजना निर्माण कम्पनीले सेनाको विस्फोटक पदार्थ नलिने भएको छ,’ आयोजना प्रमुख श्यामप्रसाद खरेलले भने, ‘नयाँ उत्पादन र राम्रोसँग परीक्षण भइनसकेकाले भर पर्दा प्रतिकूल हुन सक्छ भनेर भारतबाट ल्याउन लागिएका हो ।’

सेनाले वार्षिक २ हजार ४ सय टन विस्फोटक पदार्थ उत्पादन गर्ने गरी गत भदौबाट काम गरिरहेको छ । सेनाले भने आफूहरूले उत्पादन गरेको विस्फोटक पदार्थ गुणस्तरीय भएको दाबी गर्दै आएको छ । उक्त विस्फोटक पदार्थले काम नगरे पुनः बाहिरबाट ल्याउनुपर्ने हुन सक्ने खरेलले बताए । सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने सुरुङ निर्माणको जिम्मा लिएको जापानी निर्माण कम्पनी हाज्मा एन्डोका प्रतिनिधिसँगको भेटमा समस्या नहुने जानकारी गराउँदा उनीहरू सकारात्मक देखिएको बताए । ‘सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग नगर्नुका दुईरतीन कारण देखाएर विदेशबाटै ल्याउनुपर्ने भन्ने रहेछ,’ पाण्डेले भने, ‘निर्माण कम्पनीसँग भेट्दा गुणस्तरमा कुनै पनि समस्या हुने छैन, जति चाहिने हो, दुईसिफट्मा उत्पादन गरेर भए पनि दिन सक्छौं भनेका थियौं, टोली खुसी भएर फर्किएको थियो ।’ अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग नगर्ने र बाहिरबाट ल्याउन इजाजत माग गर्दै पत्र पठाएको उनले बताए । सुरुङमार्गमा ९१५ टन विस्फोटक पदार्थ प्रयोग हुनेछ । भारतको वेस्ट बंगालस्थित ओरिका कम्पनीबाट विस्फोटक पदार्थ ल्याइने आयोजना प्रमुख खरेलले जानकारी दिए ।

सेनाले भारतबाटै विस्फोटक पदार्थ ल्याउन स्वीकृति दिए परराष्ट्र हुँदै भारतीय राजदूतावासमार्फत प्रक्रिया सुरु हुनेछ । ‘इजाजत दिन माग गर्दै पत्र आएको छ तर हाम्रा कारणले प्रोजेक्ट नै बन्द हुने र ढिलाइ हुने भन्ने होइन,’ पाण्डेले भने, ‘प्रधानसेनापति पूर्णचन्द्र थापा आएपछि यसबारे छलफल गरेर के गर्ने भन्ने निर्णय हुनेछ ।’ सेनाले अहिले मकवानपुरको सुनाचुरीमा छुट्टै प्लान्ट स्थापना गरेर विस्फोटक पदार्थ उत्पादन गरिरहेको छ । उत्पादन हुन थालेको पाँच महिना भइसक्यो । ०५८ सालमा प्लान्ट स्थापना भएको हो । थप क्षमतासहितको नयाँ प्लान्ट ०७२ मा स्थापना गरिएको हो । नयाँ प्लान्टबाट ०७६ भदौ ३० बाट उत्पादन सुरु भएको हो । स्वयम्भूको बारुदखाना भने ०३६ सालमा सञ्चालनमा आएको हो । उत्पादन कम भएकाले नयाँ प्लान्टको आवश्यकता महसुस गरेर मकवानपुरमा स्थापना गरिएको हो । नयाँ मेसिनको उत्पादन क्षमता वार्षिक २ हजार ४ सय टन छ । ‘अहिले दैनिक ५ देखि १० टन उत्पादन भइरहेको छ,’ प्रवक्ता पाण्डेले भने । काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा पहाड फोर्न सेनाले उत्पादन गरेको विस्फोटक पदार्थ प्रयोग गरिएको छ । नेपालमा उत्पादन हुनुपूर्व माग्नासाथ विस्फोटक पदार्थ पाउन समय लाग्थ्यो । ‘जजसलाई आवश्यक पर्थ्यो, उनीहरूले जिल्ला सुरक्षा समितिमा निर्णय गर्दै समितिले गृह, गृहले रक्षा भएर हामीसँग आउँथ्यो,’ उनले भने, ‘दिन सक्ने, नसक्ने भनेर पनि सोध्ने गरिन्थ्यो, पछि दिन सके त्यही च्यानलबाट फर्किएर जिल्लामा जान्थ्यो ।’ अहिले यस्तो झन्झट छैन ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्