Logo

प्रधानमन्त्री बन्न वामदेवले चाहेको संविधानको यो धारा संशोधन



काठमाडौं, २ माघ । नेपाल कम्युनिष्ट पार्टीभित्र एकजना प्रभावशाली नेता संविधान संशोधनका लागि छटपटिएका छन् । प्रतिनिधिसभा सदस्यको चुनाव हारेपछि रन्थनिएका उनी कुनै हालतमा संविधान संशोधन गरिछाड्ने अडानमा अघि बढ्दा बढ्दै अर्को चुनाव आउने बेला भइसक्छ जस्तो भएको छ ।

उनी हुन् वामदेव गौतम । बर्दियाबाट चुनाव हारेपछि गौतमले आफूमाथि अन्तरघात भएको आरोप लगाए । नेकपाका प्रभावशाली नेता सबै चुनाव जितेको र प्रतिनिधिसभा निर्वाचन कम्युनिष्टमय हुँदा गोतम हारेका थिए । त्यसपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन खोज्दा पनि अस्वीकार गरे ।

उनले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने प्रावधान राखेमात्र सांसद बन्ने घोषणा गरे । तर, उनको प्रस्ताव नेकपाभित्र स्वीकृत भएको छैन ।

गौतमले संविधानको धारा ७६, उपधारा (२) मा दुईवटा शब्दमात्र परिवर्तन गर्न खोजेका छन् । उक्त धारामा लेखिएको छ, ‘उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमतप्राप्त गर्नसक्न्े प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ ।’ गौतमले प्रतिनिधिसभा सदस्यको साटो संघीय संसदको सदस्य राख्न चाहेका छन् । यसो हुँदा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्ने ढोका खुल्नेछ ।

तर, गौतमले प्रधानमन्त्रीको दाबी गर्लान् भनेरै चुनावमा अन्र्तघात गरिएको चर्चा अझै सेलाएको छैन । उनलाई हराउन ओली पक्षधर नै लागेको चर्चा चल्यो । गौतम पक्षधरले नामै तोकेर ओलीनिकटस्थहरुलाई कारबाहीको माग समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्