Logo

पुर्नबहालीपछि डेपुटी गर्भनर श्रेष्ठ बने गर्भनरको दाबेदार



काठमाडौं, २ माघ । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठ अनियमितताको आरोपमा छानबिनमा परेपछि गर्भनरको दौडबाट बाहिरिएको टिप्पणी भएको थियो । वर्तमान गर्भनर चिरञ्जिवि नेपालको यसै वर्षको चैत्रबाट कार्यकाल सकिने भएपछि भावी गर्भनरको दौडधुप चलिरहँदा श्रेष्ठमाथि अनियमितताको आरोप लागेको थियो ।

सरकारले श्रेष्ठमाथि छानविनमा समय लगाएको भए उनी भावी गभर्नरको प्रतिष्पर्धामा रहँदैनथिए । सरकारले उनी निर्दोष रहेको प्रतिवेदन बुझाएपछि गर्भनरको प्रतिष्पर्धी देखिएका छन् । अर्थ मन्त्रालयले बुझाएको प्रतिवेदनमा उनलाई बर्खास्त नै गर्नुपर्ने पर्याप्त कारण नदेखिएको उल्लेख भएपछि मन्त्रिपरिषद्को पछिल्लो निर्णयबाट पुर्नबहाली गराइएको छ । मन्त्रिपरिषद्बाट नै निर्णय भएर आएपछि श्रेष्ठ बलिया देखिएका छन् ।

यसअघि सरकारकै निर्देशनमा उनीमाथि छानविन गरिएको थियो । सम्पत्ति शुद्धिकरण अनुसन्धानमा सरकारलाई सहयोग नगरेको, अनियमितता गरी आर्थिक लाभ लिएकोलगायतको आरोप लगाइएको थियो । त्यसपछि उनीसँग स्पष्टिकरण लिइएको र पछि छानविन गरिएको थियो । श्रेष्ठ राष्ट्र बैंकभित्र निकै शक्तिशाली मानिन्छन् । उनीमाथि सरकारले नै छानविन शुरु गरेपछि आर्थिक मामलाका जानकारहरु नै आश्चर्यमा परेका थिए । अहिले उनलाई सरकारले नै सफाई दिएर पुर्नबहाली गरेपछिको घटनालाई अर्थपूर्ण मानिएको छ ।



प्रतिक्रिया दिनुहोस्