Logo

फागुन १४ : स्ववियू चुनावको सम्भावना र चुनौति



माघ २, काठमाण्डौ । पटक –पटक स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनको मिति तोक्दा पनि चुनाव हुन सकेन । दुई –दुई वर्षमा स्ववियुको चुनाव हुनु पर्ने त्रिभुवन विश्वविद्यालयको नियम छ । तर स्ववियुको निर्वाचन नभएको ११ वर्ष भइसक्यो । त्रिवीले आगामी फागुन १४ गतेका लागि स्ववियुको निर्वाचन गर्ने घोषणा गरेको छ । विभिन्न दल निकट विद्यार्थी संगठनहरुले यो मितिमा जसरी पनि चुनाव हुनुपर्नेमा जोड दिएका छन् ।

त्रिभुवन विश्वविद्यालले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने मिति तोकेको छ । गत आइतबार बसेको त्रिवी सभाको बैठकले स्ववियु चुनाव सम्बन्धि आवश्यक प्रक्रिया एक महिना भित्र टुंगो लगाएर फागुन १४ मा निर्वाचन गर्ने निर्णय गरेको हो ।

यस अघि २०६५ सालमा मात्र स्ववियु चुनाव भएको थियो । लामो समयसम्म स्ववियु चुनाव नहुँदा विद्यार्थी राजनीति नै संकटमा परेको बहस सुरु भइराखेका बेला त्रिवीले चुनावको मिति तोकेको हो । ६५ सालपछि पटक पटक त्रिवीले निर्वाचनको मिति घोषणा गरेर पनि चुनाव गराउन नसकेको हो ।

विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुमा मेलमिलाप नहुँदा चुनाव हुन सकेको थिएन । अब भने चुनाव जसरी पनि हुनुपर्ने पक्षमा विद्यार्थी संगठनहरु देखिएका छन् । आफूहरु निर्वाचनको तयारीमा जुटिसकेको सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनका नेता रन्जित तामाङ बताउँछन् ।

आफै अलमलमा रहेको नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठन पनि चुनावका लागि तयार भएको छ । स्ववियु निर्वाचनको तयारी जुटिसकेको बताउँदै नेविसंघका नेता सुशील भट्टले आगामी फागुन १४ गते निर्वाचन सम्पन्न गराउन सबै एकजुट हुनुपर्ने बताए । आफूहरुले चुनावका लागि एजेण्डा तय गर्न थालिसकेको नेविसंघ पूर्व केन्द्रिय सदस्य भट्टले बताए ।

चुनावको मिति घोषणा गरेसँगै त्रिभुवन विश्वविद्यालय पनि तयारीमा जुुटिसकेको त्रिवीअन्तरगतको विद्यार्थी खेलकुद निर्देशालयका निर्देशक गङ्गा बहादुर मगरले जानकारी दिए ।

प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुनसकेको छैन ।

विद्यार्थी सङ्गठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन सकेको थिएन । त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त एक हजारभन्दा बढि क्याम्पसमा स्ववियु निर्वाचन गर्नुपर्ने हुन्छ ।



प्रतिक्रिया दिनुहोस्