Logo

मनाङमा हिमपातले जनजीवन कष्टकर



काठमाडौँ, ३ माघ । हिमाली जिल्ला मनाङमा बिहीबार बिहानबाट निरन्तर हिमपात भइरहेको छ । मनाङका सबै गाउँवस्तीसम्म हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । स्थानीयका अनुसार बिहान एक बजेबाट निरन्तर हिमपात भइरहेको छ ।

हिमपातपछिको चिसोले बाहिर निस्कन सकेका छैन । मनाङ ङिस्याङ गाउँपालिका एक पिसाङका छिरिङ नेस्याङ गुरुङका अनुसार यसअघि परेको हिउँमा पुनः बिहीबार हिउँ थपिएको छ । यसअघिको हिउँ एक फीट रहेको र बिहीबार एक फीट थपिएर दुई फीट बाक्लो भएको उनले बताए । ‘बिहानैदेखि हिमपात भएको छ । चिसो सहि नसक्नु छ । बाहिर निस्कन गाह्रो छ’ उनले भने, ‘आउजाउ गर्ने बाटो भरी हिउँ छ । सवारी साधन चल्न सकेको छैन ।’ मनाङस्थित सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्मका प्रहरी नायव उपरीक्षक रमेश भुवाजीका अनुसार दिनैभर हिमपात भयो । बेलुकीपख पानी पर्ने र हावाहुरी चल्ने गरेको थियो । चिसोका कारण जिल्लाको जनजीवन कष्टकर बनेको उनले बताए । उनले भने, हिमपातले चिसो बढायो । बाहिर निस्कन सक्ने अवस्था छैन । भित्रै हिटर र आगो बालेर बस्नुपर्ने बाध्यता छ । चिसोले मानिस आवातजावत गरेका छैनन् । पर्यटक पनि देखिएको छैन ।’

प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलका अनुसार विहानैबाट हिमपात भएको हो । दिउँसो केही समय रोकिएर पानी आउने र हावाहुरी चलेपनि पुनः साँझपख हिमपात भएको हो । उनले भने, केही घण्टा विराएर हिमपात भयो । चिसोले बसि नसक्नु बनाएको छ । सबै घरभित्रै छन् । बाहिर निस्कन सक्ने अवस्था छैन ।’
गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस्