Logo

प्रधानमन्त्री निवास नजिक बम राख्दा सुरक्षाकर्मी बेखबर



काठमाडौँ, ३ माघ । गृहमन्त्री रामबहादुर थापाले गत मंसिर २७ गते प्रहरी निरीक्षक आधारभूत तालिम समापनमा नेत्रविक्रम चन्द समूह छिन्नभिन्न र कमजोर बनिसकेको दाबी गरे । पुस ११ गते केन्द्रीय सुरक्षा समिति बैठकमा उनले चारवटै सुरक्षा निकायका उच्च अधिकारीमाझ चन्द समूह शान्तिपूर्ण राजनीतिमा नआए समाप्त हुने धारणा राखे ।

रणनीति बदलेर चन्द समूहमाथि आक्रामक बन्न सुरक्षा निकायलाई उनले निर्देशन पनि दिए । त्यसको तीन सातामै बुधबार साँझ चन्द समूहले चौबीसै घण्टा सुरक्षाकर्मीको निगरानीमा रहने प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखका सरकारी निवास पछाडि ‘टाइम सेट’ गरेर कुकर बम राख्यो । बम राखेको स्थान भूमाफियाले हडपेको ललिता निवास परिसरभित्र पर्छ । जुन प्रधानमन्त्री निवासको पर्खालबाट मुस्किलले ५० मिटर र प्रहरी प्रधान कार्यालयबाट केही सय मिटर मात्रै टाढा हो । त्यस ठाउँमा प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवास सुरक्षा गर्न सेनाका ‘सेन्ट्री पोस्ट’ समेत तैनाथ छन् । सुरक्षा संयन्त्रलाई छलेर कसरी प्रधानमन्त्री निवास नजिकै चन्द समूहले बम राख्यो भन्ने प्रश्न अहिले सुरक्षा निकायतर्फ सोझिएको छ ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले राज्यका अतिविशिष्ट पदाधिकारीको निवास आसपास बम राखेको विषयलाई सेनाले गम्भीर रूपमा लिएको बताए । उनले सबै सुरक्षा निकायका लागि पनि उक्त घटनाले चुनौती थपेको स्वीकार गरे । पछिल्लो समय विस्फोट र आगजनी गर्ने समूहका गतिविधिमा पनि बढोत्तरी आएको भन्दै उनले यसलाई नियन्त्रण गर्न सबै सुरक्षा संयन्त्रबीच समन्वय भइरहेको बताए । ‘यस्ता गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदम चालिनेछ,’ प्रवक्ता पाण्डेले कान्तिपुरसँग भने । उनले बम राख्ने र विस्फोट गराउने समूहको खोजीमा अन्य सुरक्षा निकायसँगै सैनिक गुप्तचरी संयन्त्रलाई सशक्त बनाइएको बताए । पाण्डेले बम भाटभटेनी सुपरमार्केटको स्टोर नजिकैको झाडीमा रहेको प्रहरीको सूचनापछि निष्क्रिय पारिएको पनि बताए । अरू बेला बम राखिएका ठाउँमा जाने सर्वसाधारणलाई सोधपुछ गरिरहने प्रहरीले बुधबार साँझ किन सावधानी अपनाएन भन्ने प्रश्न पनि उब्जिएको छ । बम राखेर शंकास्पद व्यक्ति फरार हुँदासम्म प्रहरी र सेनाले त्यसको सुइँकोसम्म नपाउनुले राज्यका उच्च पदस्थ अधिकारीका निवास पनि सुरक्षित छैनन् भन्ने सन्देश प्रवाह भएको एक उच्च पदस्थ सुरक्षा अधिकारीले स्वीकारे ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्