Logo

अझै टेकोका भरमा घर



काठमाडौँ, ३ माघ । यट्खास्थित कन्या माध्यमिक विद्यालयमा पछिल्लो समय विद्यार्थी सङ्ख्या घट्दो छ । भूकम्पले क्षति पुगेर विद्यालय भवनमा रातो स्टिकर लागेपछि अस्थायी सिकाइ केन्द्र (टीएलसी) बनाएर पठनपाठन सुचारु गरिएको थियो ।

केही समयपछि टीएलसीमा पानी चुहिने, विद्यार्थीलाई चिसो लाग्ने, कीराफट्याङ्ग्राले दुःख दिने भएपछि विद्यार्थी धमाधम अन्य विद्यालयमा भर्ना भएर जान थाले । विद्यार्थी भाग्न थालेपछि विद्यालयले फेरि पुरानै भवनमा पठनपाठन गर्दै आएको छ । “स्कुल नै रित्तिन्छ कि भन्ने चिन्ता लागेपछि हामीले माथिल्लो निकायको स्वीकृति लिएर फेरि यही भवनमा पढाउन थालेका छौँ,” विद्यालयमा २० वर्षदेखि काम गर्दै आउनुभएका कर्मचारी महन्तलाल महर्जनले भने ।

विसं १९८० मा स्थापना भएको यो विद्यालयमा अहिले एक सय जनाभन्दा बढी विद्यार्थी रातो स्टिकर लागेको यस भवनमा पढिरहेका छन् । भवन निर्माणसम्बन्धी मापदण्ड अपुग हुँदा यस भवनले पुनःनिर्माणको इजाजत नपाएको उनको भनाइ छ । विद्यालयको साढे चार तलाको भवनको पुनःनिर्माण वा प्रबलीकरण अनिश्चित हुँदा कमजोर आर्थिक अवस्था भएका विद्यार्थीको शैक्षिक भविष्यमा असर पर्ने स्कुल परिवारको चिन्ता छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्