Logo

सबै प्रदेशमा औद्योगिक ग्राम



काठमाडौँ, ३ माघ । प्रदेश–५ का सात स्थानीय तहमा औद्योगिक ग्राम बन्ने भएका छन् । घरेलु तथा साना उद्योगमा लगानी आकर्षित गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रदेश–५ का सातवटा स्थानीय तहमा औद्योगिक ग्राम बनाउने गरी सम्झौता भएको छ ।

प्रदेश–५ मा रुपन्देहीको तिलोत्तमा र सैनामैना नगरपालिका, तुलसीपुर उपमहानगरपालिका, सुनवल नगरपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिका र खजुरा गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएका हुन् । देशका सातैवटा प्रदेश गरी ३२ स्थानीय तहमा औद्योगिक ग्राम बनाउने सरकारको योजना रहेको छ । प्रदेश–१ को धरान उपमहानगरपालिका, प्रदेश–२ को धनगढीमाई नगरपालिका, सबैला नगरपालिका र लाहन नगरपालिका, प्रदेश–३ को भरतपुर महानगरपालिका, धुलिखेल नगरपालिका, थाहा नगरपालिका, पाँचखाल नगरपालिका र भीमेश्वर नगरपालिकामा पनि औद्योगिक ग्राम बन्नेछन् । यस्तै गण्डकी प्रदेशमा सबैभन्दा बढी ११ वटा स्थानीय तहमा औद्योगिक ग्राम बन्नेछन् । जसमा वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका, राइनास नगरपालिका, बाग्लुङ नगरपालिका, बिहादी गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, सिरानचोक गाउँपालिका, ऋसिङ गाउँपालिका, शहीद लखन गाउँपालिका, ताराखोला गाउँपालिका र अर्जुन चौपारी गाउँपालिकामा औद्योगिक ग्राम बन्नेछन् । कर्णाली प्रदेशका पञ्चपुरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिका तथा सुदूरपश्चिम प्रदेशका पुनर्वास नगरपालिका, मेलौली नगरपालिका र बेलौरी नगरपालिकामा औद्योगिक ग्राम बन्नेछन् ।

यस सम्बन्धी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित पालिकाबीच समझदारी पत्रमा हस्ताक्षर र चेक हस्तान्तरण भएको छ । सम्झौता अनुसार सङ्घीय सरकारले औद्योगिक ग्राम बनाउने प्रत्येक पालिकालाई ९२ लाख रुपियाँका दरले अनुदान दिएको छ । समझदारी पत्र अनुसार पालिकाले आफ्नै स्रोतबाट १५ दिनभित्र औद्योगिक ग्रामका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अध्ययन कार्य सुरु गरी तीन महिनाभित्र सोको स्वीकृत प्रतिवेदन मन्त्रालयमा बुझाई सक्नुपर्ने छ । पालिकाका प्रमुख प्रशासीय अधिकृत औद्योगिक ग्रामका सम्पर्क व्यक्ति तोकिएका छन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्