Logo

पूर्व माओवादीबाट सभामुख, नामको टुंगो लागेन



काठमाडौं, ३ माघ । नेपाल कम्युनिष्ट पार्टीभित्र पूर्व माओवादीबाट सभामुखको उम्मेदवार बनाउने सहमति बनेको छ । शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा अध्यक्षहरु केपी शर्मा ओली र प्रचण्डबीचको बैठकपछि सहमति बनेको हो । नेकपाको बहुमत रहेकाले सभामुखमा उसकै उम्मेदवारले जित हासिल गर्ने निश्चितप्रायः छ ।

नेकपाको विश्वस्त स्रोतका अनुसार पूर्व माओवादीबाट सभामुख बनाउन ओली सहमत भएका छन् । तर, उनले प्रचण्डले प्रस्ताव गरेका नामप्रति असन्तुष्टी जनाएका छन् । प्रचण्डकै प्रस्ताव अनुसार सभामुख चयन गर्न ओली तयार भएपनि नाम विवादरहित हुनुपर्नेमा जोड दिएको बुझिएको छ ।
प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन चाहेका छन् । उनले विकल्पमा पम्फा भुषाल, देव गुरुङ र जर्नादन शर्माको नाम पनि राखेका छन् । नामबारे आइतबारभित्र टुंगो लगाइने बुझिएको छ । ६ माघमा संसद बैठक डाकिएको छ ।

यसैगरी, ओली र प्रचण्डको बैठक हुँदा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि बालुवाटार पुगेका छन् । ओली र प्रचण्डले संवैधानिक आयोगहरुको रिक्त पदमा पनि सहमति जुटाएर बढ्ने सहमति गरेपछि देउवालाई बोलाइएको बुझिएको छ । देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक सदस्यसहित कतिपय आयोगका रिक्त पदहरुमो आफ्ना तर्फबाट नामहरु राख्न चाहिरहेका छन् । संवैधानिक निकायको नियुक्तिका लागि बस्ने संवैधानिक परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रिय सभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता रहने व्यवस्था छ । बैठकमा कोरम नपुगी निर्णय मान्य नहुने भएकाले देउवाको सहमति अनिवार्य छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्