Logo

इराकमा भएको क्षेप्यास्त्र आक्रमणमा ११ घाइते



३ माघ (रासस/सिन्ह्वा) :  इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ ।

गत हप्ता इरानले गरेको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएकाहरुको अस्पतालमा उपचार भइरेहेको अमेरिकी सेनाले बिहीबार जनाएको हो । अमेरिकी सेनाले बिहीबार प्रकाशित विज्ञप्तिमा इरानले अल असद सैनिक शिविरमा गरेको सो क्षेप्यास्त्र आक्रमणमा परी कसैको मृत्यु भने नभएको स्पष्ट पारेको छ ।

अमेरिकी केन्द्रिय कमाण्डका प्रवक्ता कप्तान बिल अर्बनले जारी गरेको विज्ञप्तिमा घाइतेहरुको अवस्थामा सुधार आइरहेको उल्लेख गरिएको छ । इराकमा जनवरी ३ मा अमेरिकी ड्रोन हमलाले इरानी वरिष्ठ कमाण्डर कासिम सुलेमानीको हत्याको बदला स्वरुप इराकको पश्चिमी प्रान्त अन्बर, इर्बिल र अर्ध स्वायत्त क्षेत्रको कुर्दिस्तानका क्षेप्यास्त्र आमक्रण गरेको थियो ।

अमेरिकी रक्षा मन्त्रालयले इराकमा रहेको आफ्नो सैन्य आधार शिविर तथा गठबन्धन सुरक्षा फौजमाथी यही जनवरी ८ मा इरानी पक्षले एक दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको थियो । अमेरिका र इरानले एक अर्काका विरुद्धमा कडा चेतावनी दिइरहेका बेला यो आक्रमणको घटना भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा बग्दादमा भएको इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको हत्याको बदला लिन ती क्षेप्यास्त्रहरू प्रहार गरिएको इरानी पक्षले दाबी गरेको थियो । इराकको राजधानी बग्दादस्थित विमानस्थल नजिकै जनवरी ३ मा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरान र अमेरिकाबीच तनाब बढेको छ । इराकमा अमेरिकाका पाँच हजार सैनिक रहेको अधिकारीहरुले बताउने गरेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्