Logo

अबुधावी दुर्घटनामा ज्यान गुमाउनेमध्ये तीन नेपाली महिलाको पहिचान (सूचीसहित)



काठमाडौं, ३ माघ । संयुक्त अरब इमिरेट्सको अबुधावीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये तीन जना नेपाली महिलाको पहिचान खुलेको छ ।  बिहिबार विहान भएको दुर्घटनामा १७ नेपाली महिला बसमा सवार रहेकोमा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो । घटनामा ज्यान गुमाउनेमध्ये अन्य तीन जना अन्य देशको नागरिक हुन् ।

घटनामा ज्यान गुमाउनेमध्ये ४४ वर्षीय कृष्णकुमारी अधिकारी, २४ वर्षीया भावना र असिमा छन् । युएईस्थित नेपाली राजदूतावासका काउन्सलर भेष अधिकारीले गल्फ न्युजलाई घटनामा ज्यान गुमाउनेहरुको पहिचान भएको जानकारी दिएका हुन् । घटनामा १९ महिला घाइतेभएकामा १६ जना नेपाली थिए । उनीहरुमध्ये एकजनामात्र उपचारपछि फर्किएकी छिन् । बाँकी १५ जनाको उपचार भइरहेको जनाइएको छ ।

बसमा छ जनाको ज्यान गएको थियो । बसमा चालकबाहेक २४ जना महिला यात्रा गरिरहेका थिए । उनीहरु सफाई कर्मचारी रहेको र कामका लागि जाँदै थिए ।

बिहिबार विहान स्थानीय समयअनुसार साँढे पाँच बजे अल राह रोडमा भएको घटनामा चालकबाहेक २४ जना महिला चढेको बस लरीसँग ठोक्किदा दुर्घटनामा भएको थियो । एउटा ट्याक्सी अचानक रोकिएपछि दुईवटा लरी रोकिएका थिए । त्यसपछि पछाडि रहेको बस नरोकिंदा लरीसँग ठोक्किएको थियो ।

लरी विस्तारै रोकिएको र तिव्र गतिमा आएको बसले पछाडिबाट ठक्कर दिएको थियो । दुर्घटनाको भिडियो दृश्य हेर्दा बस चालकको लापरबाही देखिन्छ । अबुधावी प्रहरीले पनि प्रारम्भिक अनुसन्धानबाट चालकको लापरबाही भनेको छ ।



प्रतिक्रिया दिनुहोस्