Logo

कांग्रेस विवादको श्रृखलामा लाग्ला त अल्पविराम ?



माघ ३, काठमाण्डौ । झगडै झगडामा रुमल्लिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझै अन्योलमा छ । नेताहरुबीच भेटवार्ता चलिरहेको छ । सहमतिको विन्दु खोज्न शीर्षदेखि तल्लो तहका नेताहरुसम्म सक्रिय छन् । विवाद समाधानको ठोस सुत्र अझै पत्ता लागेको छैन । यद्यपी नेताहरु विवाद लम्बिदै गएपछि सचेत बनेको जस्तो देखिन्छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक विवाद बुझिनसक्नुको छ । नेताहरु कहिले मिल्छन् कहिले पानी बाराबारको स्थितीमा पुग्छन् पत्तै पाइदैन । विशेष गरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्दै पौडेल पक्षधरबीचको विवाद सदाबहार जस्तै देखिन्छ । दुई नेताको बीचमा तेस्रो धारको नेतृत्व गर्ने प्रयास गरिरहेका नेता कृष्ण प्रसाद सिटौला पनि देखिने गरेका छन् । पछिल्लो समय १४ औँ महाधिवेशनको कार्यतालिकालगायतका विषयमा भएको विवादमा देउवा एकातिर र पौडेल–सिटौला अर्कोतिर देखिए ।

२६ मंसिरदेखि ११ पुससम्म काँग्रेसभित्रको राजनीतिक माहोल तताएको थियो । १५ दिनसम्म पनि सहमति हुन नसकेपछि वरिष्ठ नेता पौडेल र तेस्रो धारका नेता सिटौला पक्षको उपस्थितिबेगर ११ पुसमा बसेको केन्द्रीय कार्यसमिति बैठकले केही महत्वपूर्ण निर्णय लियो । जसमा महाधिवेशनको कार्यतालिका, कार्यविधि, केन्द्रीय कार्यसमिति र तरुण दलको म्याद थप, विभागको संख्या थप र क्रियाशील सदस्यता सम्बन्धी विधानका केही दफा निलम्बन गर्ने निर्णय थिए ।

त्यसपछि काँग्रेसमा विवाद थप चुलियो । पौडेल र सिटौला पक्ष आफ्नो उपस्थितिबेगर गरिएको निर्णय मान्य नहुने भन्दै आफु पक्षधरका जिल्ला सभापतिहरुको भेला समेत बोलाए । पुसको तेस्रो साताको तीन दिन पौडेल–सिटौला पक्षका नेता–कार्यकर्ता सानेपास्थित पार्टी कार्यालयमा भेला भए । ‘परामर्श बैठक’ नाम दिइएको जिल्ला सभापतिहरुको भेलामा ४३ जिल्ला सभापतिको उपस्थिति थियो भने पौडेल र सिटौला पक्षका अधिकांश केन्द्रीय नेताहरु पनि सामेल थिए ।

जिल्ला सभापतिहरुले तीन दिनसम्म चलेको बैठकमा पौडेल र सिटौला पक्षको कुरा सुनेर उनीहरुलाई आफ्नो सुझाव पनि दिए । यता देउवा पनि के कम । पौडेलले काठमाण्डौ बोलाएका जिल्ला सभापतिहरुलाई आफ्नै निवासमा बोलाए । तर जिल्ला सभापतिहरुलाई चिन्ता थियो देउवाले आफूहरुको सुझाव ग्रहण गर्छन् कि गर्दैनन् भन्ने । तर आफ्नो निर्देशन अवज्ञा गरेर पौडेलले बोलाएको बैठकमा आएका जिल्ला सभापतिहरुसँग देउवा नरम बने । देउवाले जिल्ला सभापतिहरुलाई आफ्नो गुनासो सुनाए र सुझाव ग्रहण गरे ।

जिल्ला सभापतिहरुको सुझाव अनुसार पार्टी्भित्रको विवाद सामाधानतिर नेतृत्व मोडिएको हो । ११ पुसपछि पार्टीको शीर्ष तहमा देखिएको संवादहीनता अन्त्य भएको छ । सभापति देउवा, वरिष्ठ नेता पौडेल र नेता सिटौलाबीच गत आइतबार साँझ भएको छलफलबाट एक महिनादेखि दिशाहीन बनेको विवाद सही बाटोमा आएको विश्लेषण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्