Logo

देशैभरिको खानेपानीको अवस्था थाहा पाउन नयाँ सफ्टवेयर



काठमाडौं, ३ माघ । खानेपानी मन्त्रालयले देशैभरिका खानेपानी आयोजनाको अवस्था, आयोजनाको सुचारुपना, दिगोपना र पहुँचबाहिर रहेका उपभोक्ताबारे डिजिटल तथ्याङ्क, जानकारी र सूचना दिने उद्देश्यले वेबमा आधारित सफ्टवेयर तयार गरेको छ । विश्व बैंकको सहयोगमा तयार भएको उक्त सफ्टवेयरबारे आज खानेपानी मन्त्रालयमा प्रस्तुति गरिएको थियो ।

‘एनवास’ नाम दिइएको उक्त सफ्टवेयर प्रणालीमार्फत देशैभरिका खानेपानी आयोजनाको डिजिटल तथ्याङ्क, सर्भे गर्ने व्यक्ति, सम्बन्धित खानेपानी योजनाको मुहान, रिजर्भवायर ट्याङ्की र पाइपलाइनको अवस्था साथै उपभोक्ता समितिबारे विस्तृत जानकारी पाउन सकिने मन्त्रालयका सिनियर डिभिजनल इन्जिनीयर डा रजित ओझाले जानकारी दिए ।

सफ्टवेयरबारे जानकारी गराउँदै उनले भने,“कुनै आयोजनाको संरचना खोलाले बगाएको छ कि छैन ? रिजर्भवायर ट्याङ्की, पाइपलाइनको अवस्था कस्तो छ ? कति उपभोक्ताले खानेपानी उपभोग गरिरहेका छन् ? कति ठाउँमा खानेपानी पुगेको छैन ? सबै कुराको यथार्थ वस्तुस्थिति जानकारी यो सफ्टवेयरबाट थाहा हुन्छ ।”

त्यसैगरी खानेपानी सुविधा नपुगेको वा पहुँच बाहिरका उपभोक्तासम्बन्धी जानकारी पनि सफ्टवेयरमा समावेश गरिएको छ । सफ्टवेयरको माध्यमबाट खानेपानीमा पहुँच नभएका जनसङ्ख्याको तथ्याङ्क आएपछि खानेपानीको पहुँच नभएका क्षेत्रको पहिचान हुनेछ जसका कारण आगामी दिनमा योजना छनोट गर्न सजिलो हुनेछ । “जहाँ खानेपानीको पहुँच छैन, त्यो ठाउँमा योजना छनोट गर्न सजिलो हुनेछ । यसरी खानेपानीको पहुँच बाहिरका जनतालाई खानेपानी सेवा उपलब्ध गराउन सफल हुनेछौँ”, उनले भने ।

सो अवसरमा खानेपानी मन्त्री बीना मगरले नयाँ प्रविधिको माध्यमबाट देशैभरिको खानेपानीको अवस्थाबारे थाहा हुने भएपछि यसले खानेपानीका योजना बनाउन सहयोग गर्ने बताईन । “अधिकांश जनप्रतिनिधि योजना माग्न आइरहनुहुन्छ । कुन ठाउँमा खानेपानी आयोजनाको आवश्यकता छ, कुन ठाउँमा छैन भन्ने कुरा यसबाट थाहा हुने भएकाले अब मन्त्रालयलाई काम गर्न सजिलो हुन्छ”, उनले भनिन्, “खानेपानी र सरसफाइको क्षेत्रमा नयाँ ‘टेक्नोलोजी’का माध्यमबाट काम गर्न सहज हुने भएकाले अब योजना छनोट गर्न सजिलो हुने भएको छ ।”

खानेपानीको अवस्थाको तथ्याङ्क लिइसकेपछि ७५३ वटै स्थानीय तहमा सरसफाइ योजना बनाउने उनको भनाइ थियो । खानेपानी मन्त्रालयले तयार गरेको वेब सफ्टवेयर ‘डब्लुडब्लुडब्लु डट एनवास डट एमओडब्लुएसएस डट जिओभी डट एनपी’ रहेको छ । (रासस) FILE PHOTO/RN



प्रतिक्रिया दिनुहोस्