Logo

सभामुखमा ओली–दाहालको उम्मेद्धवार हरिबोल गजुरेल !



काठमाडौं, ४ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुखमा हरिबोल गजुरेलको नाम अघि सार्ने बुझिएको छ । यसअघि कसलाई सभामुख बनाउने भन्नेबारे नेकपा अध्यक्षद्वयमा नै मतभेद देखिएको थियो । अध्यक्षद्वयले सभामुखमा आफ्नो मान्छे हुनुपर्ने अडान लिएपछि प्रतिनिधिसभाको बैठकसमेत अवरुद्ध हुँदै आएको छ ।

नेकपाले सभामुखमा आफ्नोतर्फबाट उम्मेद्धवारी दिनेगरि वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई तत्काल राजीनामा दिन आग्ह गरेको थियो । तर, उपसभामुखले भने कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएकी छिन् । उनले सभामुखमा आफू नै योग्य उम्मेद्धवार भएको दाबी गर्दै आएकी छिन् । उनको पक्षमा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसदहरुले पनि समर्थन जनाएका छन् ।

अध्यक्षद्वय ओली र दाहालबीच पछिल्लो समय भएको छलफलमा सभामुखमा अहिले चर्चामा रहेका नामभन्दा बाहिरको व्यक्तित्व खोज्ने सहमति भएको थियो । सोहीअनुसार ओलीले नै नेता गजुरेलको नाम अघि सारेको बालुवाटार स्रोतको दाबी छ । पार्टी एकता गर्नुअघि नै दुई जना अध्यक्षबीच महत्वपूर्ण पदमा बाँडफाँडको सहमति भएको थियो । सोअनुसार तत्कालिन नेकपा माओवादी केन्द्रले सभामुख पाएको थियो । अहिलेपनि आफूहरुले नै सभामुख पाउनुपर्ने अडान अध्यक्ष दाहालले राख्दै आएका छन् ।

सभामुखमा पूर्व माओवादी केन्द्रबाट अग्नि प्रसाद सापकोटाको नाम अघि सार्ने अध्यक्ष दाहालको योजना थियो । तर, अर्का अध्यक्ष ओलीले उनको नाममा सहमति जनाएनन् । अदालतमा मुद्दा खेपिरहेको व्यक्तिलाई सभामुख बनाउन नहुने ओलीको आग्रह थियो । उनले नै हरिबोल गजुरेलको नाम अघि सारेको स्रोतको दाबी छ । नेता गजुरेल अध्यक्ष दाहालका विश्वासपात्र हुन् । उनी सिन्धुलीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी यसअघि कृषिमन्त्री भएका थिए ।



प्रतिक्रिया दिनुहोस्