Logo

वाग्मती सफाइमा वडालाई जिम्मेवार बनाइँदै



काठमाडौँ, ४ माघ : वाग्मती सफाइ महाअभियानको ३५०औँ हप्तादेखि नदी सफाइको विशेष जिम्मेवारी वडालाई नै दिने गरी तयारी शुरु गरिएको छ । यही माघ ११ गते शनिबार वाग्मती सफाइ महाअभियान ३५०औँ हप्तामा प्रवेश गर्दैछ । काठमाडौँ महानगरपालिका–११ लाई त्यस क्षेत्रको नदी सफाइको जिम्मेवारी दिन लागिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिए।

बबरमहलस्थित रुद्रमती दोभानबाट त्रिपुरेश्वरस्थित गुसिङ्गाल पुल क्षेत्रसम्मको करीब एक हजार ५०० मिटर नदी क्षेत्र वडा नं– ११ मा पर्छ । सो क्षेत्रमा थापाथलीको सुकुम्वासी बस्ती पनि पर्छ । त्यस क्षेत्रको सफाइ चुनौतीपूर्ण रहेको वडाध्यक्ष हीरालाल तण्डुकारले बताए । “सुकुम्वासीका कारण नदी सफाइ चुनौतीपूर्ण रहेको जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गराइसकेका छौँ, बस्ती व्यवस्थापन गरी नदी सफा राख्न उहाँले पनि चासो दिनुभएकाले केही समयमै समस्या समाधान हुने आशा छ”, उनले भने ।

वडा नं– ११ मै आएर झर्ने रुद्रमती र इच्छुमती (टुकुचा) खोलाका कारण पनि वाग्मती सफाइ चुनौतीपूर्ण छ । टुकुचाभन्दा केही सफा देखिए पनि रुद्रमती (धोबीखोला) को किनारमासमेत नाक नथुनी हिँड्न सकिने अवस्था बनिसकेको छैन । टुकुचा भने ढलमै परिणत भइसकेको छ । केही क्षेत्रमा जमीनमुनि दबाएर टुकुचाको अस्तित्व समाप्त पारिएको छ ।

टुकुचा किनारको जग्गा छानबिन गर्न भनी समिति बनेको दशकौँ बित्दा पनि त्यसले काम सम्पन्न गर्न नसकेको स्थानीयवासीको गुनासो छ । टुकुचाको जमीन धेरैले हडपेको वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठले बताए । सफाइ महाअभियानको ३४९औँ हप्तामा त्रिपुरेश्वर क्षेत्रमा सफाइ गरियो । सफाइमा १८ संस्थाका ३५० जनाभन्दा बढी अभियानकर्मी सहभागी भए । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी खरेलले बताए ।

सफाइमा तीन वटै सुरक्षा निकायको पनि सहभागिता थियो । अभियानकर्मी किशोरसिंह शाहीको जन्मदिन नदी किनारमा दुई रुद्राक्षका बिरुवा रोपी मनाइएको थियो । अर्को हप्ताको तयारीका लागि महानगरपालिकाको ११ नं वडा कार्यालयमा छलफलसमेत भएको छ । वडालाई सफाइ महाअभियानले नमूना वडा घोषणा गरेको छ ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको ३११औँ हप्तामा गोठाटार पुलमुनिको नदी क्षेत्रमा सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको सक्रियतामा भएका सफाइमा करिब ५० अभियानकर्मीको सक्रियता थियो । नकुहिने फोहर नगरपालिकाले व्यवस्थापन गरेको अभियानकर्मी ईश्वर पुडासैनीले राससलाई जानकारी दिए ।

तीन सय हप्ता नाघ्दा पनि सफा भएन रुद्रमती

रुद्रमती सफाइ अभियानको ३०१औँ हप्तामा रातोपुल–सिफल–कालोपुल क्षेत्रमा सफाइ गरी एक क्विन्टल फोहर व्यवस्थापन गरियो । सफाइमा महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्की, पहिलो पाइला नामक सामाजिक संस्थाका महासचिव सुरज गिरीसहित २५ युवाको समूहलगायत सहभागी रहेका अभियानकर्मी रोहित गिरीले जानकारी दिए ।

पहिलो पाइला समूह रुद्रमती सफाइमा निरन्तर सहभागी हुने भएको छ । रुद्रमती सफाइ अभियानले ३०० हप्ता पार गरे पनि नदी अझै सफा हुनसकेको छैन । नदी किनारमा नाक नथुनी हिँड्न नसकिने मैतीदेवीका स्थानीयवासी नारायणप्रसाद घिमिरेले गुनासो गरे । विष्णुमती सफाइ अभियानको २७६औँ हप्तामा तारकेश्वर नगरपालिका वडा नं २, ८ र ११ जरङ्गु पुल क्षेत्रमा सफाइ गरियो ।

जनचेतनामूलक अभियानसहित गरिएको सफाइमा वडा नं १० का अध्यक्ष अमृत थापा, वडा नं ८ र ११ का वडा सदस्यका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत स्थानीय संस्थाको सक्रियता थियो । नर्वेबाट आएका पर्यटक पनि सफाइ सहभागी भएका थिए । सफाइबाट करिब आठ टन फोहर व्यवस्थापन गरिएको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए ।

मनोहरा सफाइ अभियानको १४८औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित मनोहरा र हनुमन्ते दोभानमा सफाइ गरियो । सफाइमा तीनै सुरक्षा निकायलगायत स्थानीय संस्था र बासिन्दाको सहभागिता थियो । सफाइबाट चार टन फोहर व्यवस्थापन गरिएको संयोजक चन्द्रप्रसाद दङ्गालले जानकारी दिए । माघे झरीकाबीच उपत्यकाका चक्रपथको उत्तर र पश्चिम, सुन्दरीघाट, तिलगङ्गा, आलोकनगर, ललितपुरको गोदावरी खोलालगायत क्षेत्रमा पनि आज सफाइ गरिएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्