Logo

भ्रमण वर्ष प्रवद्र्धनमा कूटनीतिक नियोग



काठमाडौँ, ५ माघ  । नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने औपचारिक सुरुआत गरेसँगै विभिन्न देशमा रहेका कूटनीतिक नियोगहरूले अत्यन्त राम्रोसँग भ्रमण वर्षको प्रवद्र्धन सुरु गरेका छन् ।

सन् २०२० भित्र नेपालमा २० लाख पर्यटकको भ्रमण गराउने लक्ष्यसहित राष्ट्रपति विद्यादेवी भण्डारीले जनवरीको पहिलो दिन नेपाल भ्रमण वर्षको समुद्घाटन गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० : जीवनभरका लागि अनुभव’ नारासहित सुरु भएको भ्रमण वर्षलाई सफल बनाउन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपालका कूटनीतिक नियोगलाई अभियान सुरु गर्न निर्देशन दिएसँगैैैै कूटनीतिक नियोगको सक्रियता बढेको हो ।
नेपालमा भ्रमण वर्ष सुरु भइसकेको छ भने छिमेकी मुलुकमा भने धमाधम नेपाल भ्रमण वर्षलाई सफल बनाउने अभियानको घोषणा भइरहेका छन् । विदेशस्थित कूटनीतिक नियोगहरूले नेपालको छवि प्रस्फुटन गर्दै विदेशी पर्यटक आकर्षण गर्न विविध कार्यक्रम गर्दै आएका छन् । कतै सडक प्रदर्शन र पदयात्रा गरिएका छन् भने कतै चर्चित व्यक्तित्वले नेपालका बारेमा प्रचार गरेको पाइएको छ । कूटनीति देशको आर्थिक विकाससँग नजिक रहेकाले पर्यटनका लागि पनि महत्वपूर्ण साध्यका रूपमा रहेको छ ।

मन्त्री ज्ञवालीका अनुसार नेपालका विभिन्न ३० देशमा दूतावास छन् । कतिपय देशका दूतावासले छभन्दा बढी देश हेर्ने गर्छन् । तीनवटा संयुक्त राष्ट्रसङ्घीय मिसनसँगै १६८ देशसँग नेपालको दौत्य सम्बन्ध कायम छ । परराष्ट्र मन्त्रालयका नीति योजना महाशाखाका सहसचिव कुमारराज खरेलले भने, “अत्यन्त राम्रोसँग भ्रमण वर्षको प्रवद्र्धन कूटनीतिक नियोगहरूले गरिरहेका छन्, युरोप र अमेरिकातिर भने छुट्टीको समय रहेकाले केही ढिला भइरहेको छ ।”
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्