Logo

मुक्त हलियालाई आवास गृह



काठमाडौँ, ५ माघ । सरकारले कञ्चनपुर भीमदत्त नगरपालिकाको वडा नम्बर १९ बागफाँटामा एकीकृत हलिया बस्ती निर्माण गरी हस्तान्तरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले शनिबार उक्त बस्ती हस्तान्तरण गरेको हो ।

हलिया बस्तीका ज्येष्ठ सदस्य धनिराम लुहारको नवनिर्मित घरमा ताला खोलेर मन्त्री अर्यालले गृह प्रवेश गराएका थिए । बाजागाजासहित उल्लासमय वातावरणका साथ आयोजित कार्यक्रममा बस्ती हस्तान्तरण गरिएको थियो । सरकारले एकीकृत बस्ती निर्माण गरी औपचारिक रूपमा पहिलोपटक हस्तान्तरण गरेको हो । बस्ती हस्तान्तरण गर्दै मन्त्री अर्यालले कसैलाई पनि भूमिहीन र सुकुमबासी हुन नदिने अभियानमा सरकार अगाडि बढेको बताएका छन । उनले भने, “देशभरका भूमिहीन र सुकुमबासीको समस्या यही सरकारले समाधान गर्छ ।” हलियाको तथ्याङ्क सङ्कलनका क्रममा केही हलिया छुट हुन गएको गुनासो आएपछि सरकारले त्यसलाई पुनः पहिचान गरेको र अझै पनि छुट्न गएकालाई सम्बोधन गरिने उनले स्पष्ट पारे ।
राज्यले दिने जग्गामा महिला र पुरुष दुवैको संयुक्त स्वामित्व स्थापित हुने गरी दिने भन्दै उनले सुकुमबासी, हलिया सबैलाई संयुक्त लालपुर्जा दिइने बताए ।

सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरे पनि लामो समयसम्म पुनःस्थापना भने हुन सकेको थिएन । साविक सुदूरपश्चिम क्षेत्रका नौ र मध्यपश्चिमका तीन गरी १२ जिल्लाका १८ हजार ९५३ हलिया परिवार रहेका थिए । सरकारले गत वर्ष कञ्चनपुरमा मात्र एक हजार ७८५ हलिाया परिवारको पुनःस्थापना गरेको थियो । पुनःस्थापना हुन बाँकी हलियालाई पुनःस्थापनाका लागि स्थानीय तहमा बजेट पठाइको थियो । सरकारले बागफाँटा बस्तीमा मुक्त हलिया पुनःस्थापनाका लागि ३२ वटा घरको बस्ती निर्माण गरिएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्