Logo

छोरा–बुहारी सडक बनाउने, बाबु अनुगमन गर्ने



काठमाडौँ, ५ माघ । विराटनगर–१४ का दुई सडक बनाउन दुई बेग्लाबेग्लै उपभोक्ता समिति बनाइएका छन् । नौ सय मिटर र ३ सय ५० मिटर लम्बाइका ती सडक बनाउन गठित उपभोक्ता समितिका पदाधिकारी सोही वडाका कार्यवाहक वडाध्यक्ष महिचन्द यादवका मामाका छोरा–बुहारी हुन् । तिनको अनुगमन समिति संयोजकमा भने पदाधिकारीमध्येकै एक जनाका बुबा छन् ।

३० लाख बजेट रहेको जतुवास्थित सिरु ठाकुरको घरदेखि दक्षिण सरस्वती चोक पूर्वउत्तर पर्ने गोपाल यादवको घरसम्मको ९ सय मिटर सडक निर्माणका लागि गत कात्तिकमा वडाध्यक्ष यादवका मामाका छोरा सुशील यादवको अध्यक्षतामा समिति गठन गरिएको हो । समिति सदस्यमा मामाका अर्का छोरा चन्द्रशेखर यादव छन् । उक्त कामको गुणस्तर अनुगमन गर्न गठित समितिमा कार्यवाहक वडाध्यक्ष यादवका मामाकी बुहारी अनिताकुमारी यादव पनि छिन् । छनोटमा परेको अर्को सडक योजनाको उपभोक्ता समितिमा पनि कार्यवाहक वडाध्यक्ष यादवले आफन्त नै राखेका छन् । उक्त वडाका गुलाई यादवको घरदेखि दक्षिण रिङरोडसम्म करिब ३ सय ५० मिटरको सडकका लागि २४ लाख ५० हजार बजेट छुट्याइएको छ । यसका लागि गठित उपभोक्ता समितिमा वडाध्यक्षकै मामाका छोराहरू रमेशकुमार यादव अध्यक्ष र चन्द्रशेखर यादव सचिव छन् । कोषाध्यक्षमा अघिल्लो सडक योजनाको उपभोक्ता समिति अध्यक्ष सुशीलकी श्रीमती चन्द्रकलादेवी यादव छिन् । काम अनुगमन गर्नका लागि गठित समिति संयोजक चन्द्रशेखरकै बुबा गोपाल यादव छन् । महानगरपालिकाको योजनामा परेको उक्त सडक ग्राभेल गर्नका लागि बनाइएको लागत अनुमान नै गलत भएको स्थानीयको आरोप छ ।

महानगरपालिकाबाट विनियोजन भएको २४ लाख र स्थानीय जनसहभागिताबाट ६ लाख गरी जम्मा ३० लाख रुपैयाँमा निर्माण भइरहेको उक्त नौ सय मिटर सडक फागुनभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । सडक निर्माणका लागि उपभोक्ता समितिले महानगरपालिकालाई बुझाएको इस्टिमेटअनुसार पक्की नाला निर्माण भएका ठाउँमा एक मिटरको खाल्टो र ५ मिटरको चौडाइ देखाइएको छ । उक्त खाल्टामा माटो हाल्न ९ लाख ११ हजार ७ सय ६१ रुपैयाँ बजेट छुट्याएको छ । नौ सय मिटरको अर्को सडकअन्तर्गत कुनै पनि ठाउँमा ठूला खाल्डा छैनन् । जबकि प्राविधिकले ३३ इन्च बढी माटो हाल्नुपर्ने इस्टिमेटमा देखाइएको छ । ‘निर्माणाधीन सडकमा कुनै अवरोध नभए पनि सडकको ‘साइट क्लियर’ नाममा समेत बजेट छुट्याइएको छ,’ नाम उल्लेख नगर्न अनुरोध गर्दै एक स्थानीयले भने, ‘उपभोक्ता समितिमा सबै आफन्त राखेर गलत इस्टिमेट बनाई रकम हिनामिना भइरहेको छ ।’

वडाध्यक्ष बलदेव यादव आफ्नै छिमेकी समानन्द यादव हत्या प्रकरणमा संलग्न देखिएपछि पक्राउ परिने डरले फरार छन् । उनी फरार भएपछि १४ नम्बर वडाको कार्यवाहक जिम्मेवारी महिचन्द यादवलाई दिइएको हो । आफूले खोजेको केटीसँग छोराको विवाह नगराएको भन्दै बलदेव यादवले आफ्नै घरमा पञ्चायत बसाएर समानन्दलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । गम्भीर घाइते भएका समानन्दको उपचारका क्रममा मृत्यु भएको थियो ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्