Logo

अन्नपूर्ण पदयात्रामा ८ विदेशीसहित ११ हराए



काठमाडौं, ५ माघ । अन्नपूर्ण ट्रेकिङमा गएका आठ विदेशी पर्यटक र तीन नेपाली गरी ११ जना हराएका छन् । हराउनेमा चार चिनियाँ, चार कोरियन र तीन नेपाली छन् ।

दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली सम्पर्कविहिन छन् । यस्तै, मनाङमा चारजना चिनियाँ नागरिक सम्पर्क्विहीन छन् । खराब मौसमका कारण उनीहरूसँग सञ्चार सम्पर्कसमेत हुन सकेको छैन ।

शुक्रबार अन्नपूर्ण आधार शिविर जान हिँडेका उनीहरू तीन हजार एक सय मिटरको देउरालीसम्म पुगेका थिए । माथिको मौसम खराब रहेको थाहा पाएपछि त्यहीँबाट फकर्ने क्रममा उनीहरू सम्पर्क्विहीन भएका हुन् । पदमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित देउरालीबाट दुई हजार पाँच सय पाँच मिटरको दोभान र दुई हजार नौ सय २० मिटरको हिमालयनको बीचमा पर्ने हिंकु भन्ने स्थानबाट उनीहरू सम्पर्क्विहीन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना घान्द्रुकका प्रमुख विदुर कुइँकेलले जानकारी दिए ।

सम्पर्कविहीन भएकाको खोजीका लागि शनिबार चारवटा हेलिकोप्टर प्रयोग गरिएको थियो । उनीहरू हराएको भनी शंका गरिएको स्थान धेरै ठूलो नभए पनि केही पत्ता नलागेको अन्नपूर्ण गाँउपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले जानकारी दिए । ‘आधा घन्टाभन्दा बढी चारवटा हेलिकोप्टरबाट हिंकु वरिपरिको क्षेत्रमा खेजी गर्दा केही पनि पत्ता लागेन,’ उनले भने ।

उनीहरूको उद्धारका लागि पैदल गएको ६ जनाको टोली खराब मौसमका कारण दोभानदेखि माथि जान नसकेको टोलीमा रहेका विजय गुरुङले जानकारी दिए ।अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले केही दिनदेखि परेको वर्षासँगैको हिमपातका कारण हराएकाको खोजीमा समस्या भएको जानकारी दिए । हिंकु भन्ने स्थान खोल्सा रहेको र सोही खोल्सामा माथिबाट आएको हिमपहिरोले उनीहरूलाई पुरेको आशंका छ । देउरालीबाट दोभान आउने क्रममा उनीहरू नआएपछि स्थानीयले खोजीकार्य सुरु गरेका थिए । सो स्थानमा हिमपहिरो जाने गरेको छ ।

अलपत्र परेकाको उद्धार

पदयात्रामा जाने र खराब मौसमका कारण विभिन्न स्थानमा अलपत्र परेका एक सय ४१ जनाको शनिबार उद्धार गरिएको छ । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङ, छोम्रोङ पर्यटन व्यवसायी समिति र सेन्चुरी युवा क्लबको पहलमा उनीहरूलाई उद्धार गरिएको छोम्रोङ पर्यटन व्यवसायी समितिका सचिव दिलीप गुरुङले जानकारी दिए । उनका अनुसार सातजनालाई अन्नपूर्ण आधार शिविर, १२० जनालाई माछापुच्छ्रे आधार शिविर र देउरालीबाट १४ जनालाई उद्धार गरिएको हो ।

चारवटा हेलिकोप्टरबाट उनीहरूलाई उद्धार गरी छोम्रोङ ल्याइएको उनले बताए । छोम्रोङ ल्याइएकामध्ये केही पर्यटक पैदलमार्फत पोखरा झर्न सुरु गरेका छन् । उद्धार गरिएकाहरू अधिकांश विदेशी र केही नेपाली पर्यटक छन् । माथिल्लो भागमा जमेको हिउँ नपग्लेसम्म केही दिनका लागि देउरालीदेखि माथि पर्यटकलाई जान नदिने र अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टर उडानसमेत बन्द गर्ने विषयमा समितिले छलफल थालेको सचिव गुरुङले जानकारी दिए ।दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्