Logo

आइजीपी खनाल अवकाश हुनैलाग्दा प्रहरीमा सरुवा, बढुवा र नर्या भर्ना



काठमाडौं, ५ माघ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल २९ माघबाट अवकाश पाउँदैछन् । अवकाश हुँदै गर्दा उनले प्रहरीमा बढुवा र सरुवाको तयारी गरेका छन् ।

आइजीपी भएलगत्तै दुई वर्ष अघि उनले साना पदको व्यापक बढुवा गरी शुरुवात गरेका थिए । अवकाश हुनलाग्दा उनले जवान र हवल्दारको बढुवा गरेर ठूला पदमा बढुवा गर्न लागेका छन् । ५२३ जना हवल्दारमा बढुवा भए । प्रहरीमा इन्स्पेक्टर, डिएसपी, एसपी, एसएसपी र डिआइजी पदमा बढुवाको तयारी भएको छ । डिआइजीको एक पद रिक्त छ । एसएसपीको ठूलो संख्या खाली भइसकेको छ ।

यसैगरी, नेपाल प्रहरीमा इन्स्पेक्टर र असईका लागि आवेदन खुलेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले बुधबार सूचना प्रकाशित गरी आवेदन खुलाएको हो । इन्स्पेक्टरका लागि १४९ र असईका लागि ५८४ दरबन्दीमा आवेदन खुलाइएको हो । खुला प्रतियोगिताबाट इन्स्पेक्ट र असईको खाली दरबन्दी पूर्तिका लागि आवेदन खुलाइएको प्रहरी प्रधान कार्यालयले जनाइएको छ । इन्स्पेक्टरमा खुला ८०, अमर अशक्त प्रहरी परिवार ३ र समावेशी समूहतर्फ महिला १३, आदिवासी जनजाति २१, मधेसी १८, दलित १० र पिछडिएको क्षेत्र ४ दरबन्दीमा आवेदन खुलाइएको छ । असईमा ३१५ खुला, अमर अशक्त प्रहरी परिवारबाट १२ र बाँकी समावेशी समूह गरी ५८४ दरबन्दी खाली छ ।
दरखास्त फाराम दर्ता बिदाको दिनबाहेक ५ माघ विहान १० बजेदेखि ११ फागुन साँझ पाँच बजेभित्र राखिएको छ ।

यसैगरी, प्रहरीको प्राविधिक समूहतर्फको प्रहरी जवान पदमा आवेदन खुलेको छ । आवेदन खुलाइएकामा सञ्चार निर्देशनालयतर्फ इन्जिनियरिङ ६११, सूचना प्रविधि निर्देशनालयतर्फ इन्जिनियरिङ ४३, भौतिक पूर्वाधार निर्देशनालयतर्फ इन्जिनियरिङ ६३, सवारी महाशाखातर्फ इन्जिनियरिङ १२६, केनाइन महाशाखातर्फ केनाइन ५३, हातहतियार मर्मत शाखातर्फ हातहतियार ६, नेपाल प्रहरी अस्पतालतर्फ स्वास्थ्य १९, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला तर्फ विधि विज्ञान ७ र नेपाल प्रहरी संगीत विद्यालयतर्फ संगीत उपसमूहमा १४४ जना जवान संख्या रहेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्