Logo

गायिका आस्था राउतमाथि प्रहरीमा किटानी जाहेरी



काठमाडौं, ५ माघ । गायिका आस्था राउतमाथि अभद्र व्यवहारको कसुरमा उजूरी दर्ता भएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा उनीविरुद्ध प्रहरी जवान रमिता श्रेष्ठको औपचारिक उजूरी दर्ता भएको हो ।

शुक्रबार राउतमाथि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा जवान श्रेष्ठले आफूमाथि ड्युटीमा रहँदा अभद्र व्यवहार गरेको उजूरी महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत् पुगेको थियो । त्यसपछि सीसीटीभी फुटेज हेरेर आयुक्तको कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाएर परिसरलाई उजूरी दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो ।

आयुक्तको कार्यालयको पत्र र आवश्यक प्रमाणका आधारमा उजूरी दर्ता भएपछि राउतलाई प्रहरीले खोजेको छ । हाल नेपाल बाहिर रहेकी राउत फर्किएलगत्तै परिसर बोलाइनेछिन् । उनी नगए पक्राउ गरिने तयारी भएको बुझिएको छ । घटनाबारे प्रहरीले उनीसँग सोधपुछ गरी कारबाही अगाडि बढाउनेछ ।

गायिका राउतले त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा जवान रमिता श्रेष्ठमाथि अभद्र व्यवहार गरेको भिडियो फुटेज सार्वजनिक भएको थियो । राउतले आफूमाथि जवान श्रेष्ठले अभद्र व्यवहार गरेको दाबी गरेकी छिन् । घटनापछि उनले फेसबुक लाइभ गरी आक्रोश पोख्दै प्रहरीलाई गाली गरेकी थिइन् । यही भिडियोका कारण उनी समस्यामा परेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्