Logo

युद्धमा भन्दा बढी सडक र्दुघटनामा मृत्यु



काठमाडौं, ५ माघ । देशमा दश वर्षे माओवादी द्धन्द्धका क्रममा झण्डै १८ हजारको ज्यान गयो । सरदर प्रत्येक वर्ष १८ सयको ज्यान गयो । अहिले देशमा द्धन्द्धकालमा भन्दा बढी सडक दुर्घटनाबाट ज्यान जानेको संख्या बढी रहेको छ ।

प्रत्येक वर्ष दुई हजारभन्दा बढी सडक दुर्घटनाबाट ज्यान गुमाइरहेका छन् । २०७५७६ मा सडक दुर्घटनाबाट २७ सय ७९ को ज्यान गएको नेपाल प्रहरीको तथ्यांक छ । जुन अघिल्लो आर्थिक वर्षको २५ सय ४१ मृतक संख्याभन्दा बढी हो । विगत छ वर्षयता सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढरहेको छ । कुनै युद्धग्रस्त देशमा युद्धका कारण ज्यान गुमाउनेभन्दा नेपालमा सडक दुर्घटनामा ज्यान गुमाउनेका संख्या कम छैन । दैनिक सातजनाले दुर्घटनाबाट ज्यान गुमाउनुले नेपालको सडक सुरक्षित छैन भन्ने देखाउँछ ।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७०/७१ मा कुल आठ हजार चार सय छ दुर्घटना भएको थियो । त्यसमा मूत्यु हुनेको संख्या एक हजार सात सय ८७ थियो । यसैगरि, आव ७१/७२ मा नौ हजार एक सय ४७ दुर्घटनामध्ये मूत्यु हुनेको संख्या दुई हजार चार रहको छ । आव ७२÷७३ मा दश हजार १३ दुर्घटनामा मृत्यु हुनेको संख्या दुई हजार ६ थियो ।

आव ७३/७४ मा करिब दश हजार एक सय ७८ दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई हजार तीन सय ८४ रहेको थियो । आव ७४/७५ मा दश हजार नौ सय ६५ दुर्घटनामा मूत्यु हुनेको संख्या दुई हजार पाँच सय ४८ रहेको तथ्यांकले देखाउँछ । गत आवमा १३ हजार तीन सय ६६ दुर्घटनामध्ये मूत्यु हुनेको संख्या दुई हजार सात सय ७९ भएको छ ।

प्रहरीको तथ्यांक अनुसार देशभर दैनिक सरदर ३९ दुर्घटना हुने गरेका छ । जसमा सात जनाको मूत्यु हुन्छ भने ४० जना घाइते हुन्छन् । वि.स २०७५/७६ को जेठ मसान्तसम्म दुर्घटना भएका सवारी साधनको तथ्यांक अनुसार मोटरसाइलको दुर्घटना उच्च रहेका देखिन्छ । ७५/७६ मा करिब सात हजार आठ सय १४ मोटरसाइकल दुर्घटना भएको तथ्यांकले देखाउँछ । यसैगरी सोही वर्षमा पाँच हजार पाँच सय २५ कार दुर्घटना भएको थियो । दुई हजार तीन सय ९७ बसको दुर्घटना भएको छ भने एक हजार आठ सय ५१ दुर्घटना ट्रकको भएको छ ।

सवारी साधनमध्ये सबैभन्दा खतरनाक मोटरसाइकल देखिएको छ । मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनेको ठूलो संख्याले मोटरसाइकल ज्यानमारा बन्दै गएको देखिन्छ । सडक, सवारी साधन, चालकको लापरबाही, सडक सुरक्षामा अपनाउनुपर्ने सावधानी नअपनाउँदा दुर्घटना हुनेगरेको छ ।



प्रतिक्रिया दिनुहोस्