Logo

समाज निर्माणको बाधकलाई सजाय दिलाउन प्रहरी प्रतिवद्ध- आइजीपी खनाल



तनहुँ, ५ माघ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल अवकाशको मिति नजिकिंदै गर्दा प्रहरीको पूर्वाधार विकासमा सक्रिय भइरहेका छन् । उनले शुक्रबार देखि आइतबारसम्म विभिन्न जिल्लाको भवन निर्माणको शिलान्यास गरे ।

खनाल चितवन, तनहुँ र पोखरा पुगेर भवन निर्माणको शिलान्यास गर्न पुगेका हुन् । उनी गृहजिल्ला तनहुँमा पुगेर भानु नगरपालिकाको इलाका प्रहरी कार्यालयको भवन उद्घाटन गर्न पुगे ।

महानिरीक्षक खनालले भानु नगरपालिका- २ नारेश्वरटारमा निर्माण हुने ईलाका प्रहरी कार्यालय भवनको शनिबार आयोजित एक कार्यक्रमबीच शिलान्यास गरे। सो अवसरमा उनले अपराध र अपराधी समृद्ध मुलुक निर्माणको बाधक भएको कुरा बताउँदै अपराधीलाई कानूनी दायरामा ल्याई कानून बमोजिमको सजाय दिलाउन नेपाल प्रहरी प्रतिवद्ध रहेको बताए। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले संचालन गरेको विभिन्न जनलक्षित गतिविधि तथा कार्यक्रमहरुले समाजमा शान्ति सुव्यवस्था कायम गरी अपराध नियन्त्रण गर्ने कार्यमा प्रभावकारी भूमिका खेलेको उनले उल्लेख गरे ।

 

कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले नवनिर्माण हुन लागेको प्रहरी भवनले प्रहरी सेवा प्रवाहमा थप उर्जा थप्ने एवं कार्य सम्पादनमा सहजता आउने बताए।

सो अवसरमा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले नेपाल प्रहरीले अंगिकार गरेको समुदाय प्रहरी साझेदारी अभियानले नागरिक र प्रहरीको सहकार्यबाट अपराध न्यूनिकरण गरी शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

तनहुँ प्रहरी प्रमुख एसपी बिनोद सिलवालले कार्यक्रम संचालन गरेका थिए ।

यसैगरी शनिबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र तनहुँ व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा व्यास नगरपलिकाको कार्यालयमा लागूऔषध प्रयोगको रोकथाम र नियन्त्रणका लागि संचालित कानूनी तथा मनोसामाजिक निःशुल्क “परामर्श सेवा केन्द्र” को समेत उद्घाटन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्