Logo

पदयात्रा असुरक्षित, ७ जना अझै बेपत्ता, भोलि हेलिकप्टर पठाइने



माघ ५, काठमाण्डौ । पर्यटकीय भनौँ वा प्राकृतिक सुन्दरता । नेपालको विशेषता नै हिमाल हो । विश्वमा नै नेपाल एक उत्कृष्ठ पर्यटकीय गन्तव्यको रुपमा चिनिनुको कारण हिमालय श्रृखला मान्न सकिन्छ । तर हिमाल नै कुन बेला मृत्यु बनेर आइदिन्छ थाहै हुँदैन । विशेषगरी हिमाली भेगमा गरिने पदयात्रा जोखिमपूर्ण हुने गरेको छ ।

नेपाल आउने लाखौँ विदेशी पर्यटकहरु हिमाल हेर्न रुचाउँछन् । नेपालका हिमाल आरोहणका क्रममा हुने समस्याहरु भने समाधान हुन सकेको छैन । हिमाल आरोहणका क्रममा मृत्यु हुने, बेपत्ता हुने जस्ता समस्या भोग्नुपर्ने हुन्छ । हिमाल आरोहण मात्रै होइन, हिमाली क्षेत्रमा हुन पदयात्रा पनि उत्तिकै जोखिमपूर्ण हुने गरेको छ ।

विशेषगरी पदयात्राका क्रममा हिमपहिरो आउँदा पर्यटकहरुको मृत्यु हुनेदेखि बेपत्ता हुनेसम्मका समस्या देखिने गरेको छ । पछिल्ला दुई दिनमा अन्नपूर्ण पदयात्रामा गएका पर्यटकले हिमपहिरोको सामना गर्नुपर्यो । हिमपहिरोमा परी अहिले पनि ७ जना बेपत्ता छन् । तीन जना नेपाली र ४ जना कोरियाबाट आउका पर्यटक बेपत्ता भएका हुन् । मौसम प्रतिकूल छ भनेर सचेत गराउँदा गराउँदै पनि उनीहरु अन्नपूर्ण क्षेत्रमा गएकाले विपत्ति आइलागेको पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले बताए ।

अन्नपूर्ण आधार शिविरबाट फर्कने क्रममा सम्पर्कविहीन भएका चार बिदेशीसहित ३ नेपालीको खोजी कार्य जारी छ । कास्कीको अन्नपुर्ण गाँउपालिका ११ स्थित देउरालीबाट दोभान आउने क्रममा बेपत्ता भएकाको सोमबारदेखि हेलिकप्टरमार्फत खोजी गर्ने तयारी भइरहेको घिमिरेले जानकारी दिए ।

नेपाल आउने अधिकांश पर्यटकको रोजाइमा अन्नपूर्ण पदयात्रा पर्ने गर्दछ । पदयात्राका क्रममा हिमपहिरोलगायतका समस्या झेल्नुपर्ने हुन्छ । तर सरकारले त्यस्तो विपत्तिपछिको उद्धारलाई प्रभावकारी बनाउन सकेको छैन । हिमाल आरोहण र पदयात्रालाई सुरक्षित नबनाउने हो भने नेपाल भ्रमण वर्ष २०२० मा विदेशी पर्यटकको संख्यामा प्रभाव पर्न सक्ने देखिन्छ । यसतर्फ सरकारले बेलैमा ध्यान दिनु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्