Logo

१५ वर्ष शिक्षक, २ पटक मन्त्रि : अब सभामुख



माघ ५, काठमाण्डौ । संसद नेतृत्व बिहीन भएको करिव चार महिनापछि नेतृत्व चयन हुंदैछ । संसदको सबैभन्दा ठूलो दल नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अडानबाट पछाडी हटेपछि पूर्व माओवादी पृष्टभूमिका अग्नि सापकोटाले सभामुख बन्ने अवसर प्राप्त गर्दैछन् ।

यसअघी तत्कालिन एकीकृत नेकपा माओबादीका प्रवक्ताको जिम्मेवारी सम्हालिसकेका सापकोटा सूचना तथा संञ्चार र बनमन्त्री बनिसकेका छन् । प्र्रतिनिधीसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नवंर १ बाट प्रत्यक्ष निर्वाचित सापकोटा अब उच्च तहमा पुग्ने भएका छन् ।

सिन्धुपाल्चोक चौतारा ६ कुविण्डे टोलमा ०१४ साल फागुन २४ गते अग्नि सापकोटाको जन्म भएको हो । धनपति सापकोटा र तिलमाया सापकोटाका छोरा अग्निका ३ छोरा छन् । साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा दुई पटक भारी मतान्तरले विजयी सापकोटा पछिल्लो ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् ।

२०३५ सालबाट राजनीतिमा सक्रिय सापकोटाले पटक–पटक गरी २ वर्ष जेल जीवन बिताएका छन् । उनी तत्कालीन भूमिगत पाटी चौथो महाधिवेशन (चौम)को संस्थापक सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी पनि थिए । जिल्लाको कम्युनिष्ट राजनितिमा महत्वपूर्ण भुमिका खेलेका सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।

सिन्धुपाल्चोक जिल्लाको जनजागृति माविका पूर्व प्रधानाध्यापक सापकोटाले शिक्षण पेशा छोडेर पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका थिए । २०४८ सालमा संयुक्त जनमोर्चा नेपालको तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए । उनी त्यती बेला पराजित भएका थिए । ०५१ सालमा पार्टी केन्द्रीय सदस्य बनेका सापकोटा माओवादी र सरकारबीच भएको दोस्रो वार्तामा वार्ता टोली सदस्य समेत थिए ।

सापकोटाले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । साँगाचोकस्थित जनजागृति माध्यमिक विद्यालयमा १५ वर्ष प्राध्यापन गर्दा उनी शिक्षक राजनीतिमै सक्रिय थिए । प्रधानाध्यापक छोडेर उनी पूर्णकालीन राजनीतिमा होमिएका थिए ।

०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत नै थिए । सापकोटा २ पटक मन्त्री भइसकेका छन् । सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन् । मुलुकको शत्तिशाली संबैधानीक निकाय संसदको प्रमुख बन्न लागेका सापकोटा विवादरहित भने छैनन् ।

सर्वोच्च अदालतमा उनीविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा परेको छ । गत असार २५ गते सर्वोच्चले बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमा उजुरी परेको भए त्यसको प्रतिलिपि उपलब्ध गराउन आदेश दिएको थियो । काभ्रे छत्रबाँझका अर्जुन लामाको हत्यामा संलग्न भएको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले मुद्दा दायर गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्