Logo

अन्तत: पूर्वमाओवादीलाई सभामुख



काठमाडौं, ६ माघ । सत्तारुढ नेकपाले सभामुख उम्मेदवार टुंगो लगाएको छ। नेकपा सचिवालयको आइतबारको बैठकले पार्टी स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

पार्टी अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालको संयुक्त प्रस्तावमा सापकोटालाई सचिवालय बैठकले सर्वसम्मतिमा सभामुख उम्मेदवार बनाउने निर्णय लिएको महासचिव विष्णु पौडेलले जानकारी दिए। ‘कतिपयलाई नेकपाले सभामुख चयन गर्नै सक्दैन, गरे पनि सर्वसम्मत निर्णय लिन सक्दैन भन्ने थियो तर हामीले त्यसलाई चिरेर दुवै अध्यक्षको संयुक्त प्रस्तावका रूपमा सर्वसम्मत निर्णयका आधारमा उहाँ (अग्नि सापकोटा) लाई सभामुख उम्मेदवार बनाउने निर्णय लिएका छौं,’ बैठकपछि महासचिव पौडेलले भने। संसद्मा नेकपा एक्लैको झन्डै दुई तिहाइ १ सय ७४ (एकजना निलम्बित) मत छ । बहुमतका आधारमा सभामुख चयन हुन १ सय ३८ मत भए पुग्छ। संसद्मा बहुमत रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् एक महिनायता अवरुद्ध छ।

नेकपा (तत्कालीन माओवादी केन्द्र)का तर्फबाट सभामुख बनेका कृष्णबहादुर महराले संसद्का महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गत असोज १४ मा पदबाट राजीनामा दिएपछि संसद् सभामुखविहीन थियो। महरा थुनामै छन्। नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा ४ पुसमा सुरु संसद्को हिउँदे अधिवेशन प्रभावित बन्दै आएको थियो। आइतबार बिहान प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको ‘वन अन वन’ छलफलमा सभामुख उम्मेदवारको नाममा सहमति जुटेपछि नेकपाले साँझ सचिवालय बैठक बसेर सापकोटाको नाम अनुमोदन गरेको थियो।  नेकपाले २६ पुसको सचिवालय बैठकबाट सभामुखमा पार्टीले उम्मेदवारी दिने र त्यसका लागि उपसभामुखलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो। संविधानतः सभामुख र उपसभामुख एकै दलका हुन नपाउने व्यवस्थाका कारण उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा नदिँदा सभामुख चयन गर्न सत्तारुढ दललाई सकस परिरहेको थियो।

प्रधानमन्त्री ओली र दाहालबीच कसलाई सभामुख बनाउने भनेर तानातान थियो। ओली पूर्वसभामुख सुवास नेम्बाङ र दाहाल सापकोटालाई सभामुख बनाउने पक्षमा अडिग थिए। उपसभामुख तुम्बाहाङफे आफंै सभामुख बन्ने दाउमा थिइन्। नेकपाभित्र सभामुख पूर्वमाओवादीले लिने कि एमालेले भन्नेमा दुई अध्यक्षबीच लामो समय रस्साकस्सी चलेको थियो। पार्टी एकताअघि राष्ट्रपति, प्रधानमन्त्री तथा राष्ट्रियसभाको अध्यक्ष पूर्वएमालेले र उपराष्ट्रपति तथा प्रतिनिधिसभाको सभामुख पूर्वमाओवादीले लिने समझदारी थियो। त्यसैका आधारमा सभामुख आफूले पाउनुपर्ने अडान अध्यक्ष दाहालले नछाडेपछि सभामुख चयनमा ओली–दाहाल विवाद थियो।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्