Logo

मनाङमा हराएका चार चिनियाँ सम्पर्कमा, अन्यको खोजीमा कठिनाई



काठमाडौं, माघ ६ । अन्नपूर्ण फेरोको पदयात्रा जाने क्रममा मनाङबाट सम्पर्कविहीन भएका दुई महिला र दुई पुरुष गरि ४ जना चिनियाँ पर्यटक सम्पर्कमा आएका छन्। उनीहरू मुस्ताङबाट थोरङ पास हुँदै मनाङ झरेर पदयात्रा पूरा गरी पोखरा आइसकेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापका सूचना अधिकारी ऋषि बरालले जानकारी दिए। मनाङ निस्याङ गाउँपालिका–९ स्थित एक्याप चेकपोस्टमा पुस २७ गते इन्ट्री भएका उनीहरू शनिबारसम्म सम्पर्कमा नआउँदा प्रहरी र स्थानीयले खोजी गरेका थिए।

एक्याप प्रमुख राजकुमार गुरुङले ४ विदेशी पर्यटक र ३ नेपालीसहित ७ जनाबाहेक अन्य हराएको सूचना नआएको बताए। अन्नपूर्ण पदयात्रा क्षेत्रमा जाने पर्यटकको अवस्थाबारे विभिन्न चेक पोस्टबाट जानकारी लिइरहेको र थप पर्यटक हराएको सूचना नपाएको उनले बताए।

यो सिजनमा सबैभन्दा धेरै नेपाली र विदेशी गरेर सयदेखि डेढ सयको हाराहारीमा अन्नपूर्ण आधार शिविर जाने गरेको उनले बताए। अन्नपूर्ण फेरोको पदयात्रामा दैनिक १५÷२० जना जाने गरेको मनाङको धारापानी चेकपोस्टकी सुमी गुरुङले जानकारी दिइन्। उनीहरूलाई पुस र माघ महिनामा जोखिम क्षेत्र तिलिचोको पदयात्रामा जान रोक लगाइएको पनि उनले सुनाइन्। अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्