Logo

कुसुन्डा भाषामै बर्बराउँछिन् उनी



काठमाडौँ, ६ माघ । कुसुन्डा भाषाकी एक मात्र ज्ञाता ज्ञानीमैया कुसुन्डा थलिएकी छन् । अस्पतालको शय्या होस् या घरको ओछ्यान, जता पनि उनी कुसुन्डा भाषामै बर्बराउँछिन् । सधैं भाषा संरक्षणमा चिन्तनशील ८२ वर्षीया उनी ओछ्यान पर्दा पनि भाषाकै चिन्तामा छिन् ।

उनी पुस अन्तिम सातादेखि बिरामी परेकी हुन् । हिँडडुल गरिरहेकी थिइन् । काम छाडेकी थिइनन् । दुई साताअघि रिँगटा लागेर एक्कासि लडिन् । हतारमा लमहीस्थित फ्लोरेन्स अस्पतालमा लगियो । थप उपचारका लागि दोस्रो दिन कोहलपुर मेडिकल कलेज पुर्‍याइयो । सुधार नभएपछि शुक्रबार लमही नगरपालिका–६, कुलमोहरस्थित घरमा ल्याइएको छ । उनलाई दम र रक्तचापको समस्या बढेको उपचारमा संलग्न डा। पुष्प भुसालले बताए । बुहारी आशा पुनमगर स्याहारमा खटिरहेकी छन् ।लमही हुँदै कोहलपुर पुर्‍याउँदा पनि सन्चो नभएपछि आशा आत्तिएकी छन् । ‘डाक्टरले ब्लडप्रेसर धेरै नै बढ्यो भनेका छन् । फोक्सोमा दाग छ भनेका छन्,’ उनले भनिन्, ‘सन्चो हुने नहुने केही भनेका छैनन् ।’ ज्ञानीमैया अस्पताल हुँदा कुसुन्डा भाषामै बोलिरहेको उनले बताइन् । ‘कुसुन्डा भाषामा के के बोलिरहनुहुन्छ । हामी केही बुझ्दैनौं,’ उनले भनिन्, ‘उहाँलाई त्यही भाषाकै चिन्ता छ ।’

उनीसँग कुसुन्डा भाषामै कुरा गर्न सक्ने काकाकी छोरी कमला कुसुन्डा शनिबार भेट्न घरमै पुगिन् । ज्ञानीमैयाको कुरा उनले मात्र बुझिन् र कुसुन्डा भाषामै केही समय कुरा गरिन् । ज्ञानीमैयाले आफ्नो अवस्था ठीक नभएको र भाषा कसरी बचाउने भनेर चिन्ता व्यक्त गरेको उनले बताइन् । उनी चक्कर लागेर उठ्न सक्दिनन् । धेरैबेर बोल्न सक्दिनन् । बोल्दाबोल्दै बेसुर हुन्छिन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्