Logo

जनकपुरको हवाई भाडा सस्तो



काठमाडौं, माघ ६ । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्स र बुद्व एयरले जनकपुरको हवाई भाडा घटाएका छन्।श्रीएयरले सोमबार (आज)देखि लागू हुने गरी दुई हजार रुपैयाँमा नै काठमाडौंबाट जनकपुर उडान गर्ने भएको छ।

पहिले कम्पनीले ३५ सय देखि ४५ सय रुपैयाँमा उडान भर्दै आएको थियो। श्रीले ८० सिट क्षमताको क्यू ४०० नामक ८० सिट क्षमताको विमानबाट उक्त गन्तव्यमा उडान भर्न लागेकोे जानकारी दिएको छ। कम्पनीका अनुसार हाल विमानले उक्त रुटमा पूर्ण सिट क्षमतामा उड्न नसकेका कारण हवाई भाडा घटाएको जनाएको छ।

‘अफ सिजन भएकाले विमान पूर्ण क्षमतामा उड्न सकेका छैनन्,’ कम्पनीका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले भने, ‘अहिले कम्पनीले लागू गर्ने भनिएको भाडादरलाई नयाँ गन्तव्यमा प्रवद्र्धनात्मक रुपमा हेरिएको छ। भोलिका दिनमा विमानको सिट क्षमता, हवाई तेलको मूल्य र यात्रुको चाप हेरेर पुनः मूल्यांकन गरिने छ।’

हाल कम्पनीले तोकेको भाडा सरकारले तोकेको न्यूनतम भाडादरभन्दा कम रहेको र अन्य कम्पनीले पनि जहाज खाली उडानुभन्दा बरु कम मूल्यमा भए पनि उडान भर्न थालेकाले कम्पनीले हाललाई उक्त रुटमा सस्तोमा हवाई सेवा दिन लागेको उनको भनाइ छ।

त्यस्तै, निजी क्षेत्रकै अर्को विमान कम्पनी बुद्व एयरले पनि जनकपुर उडान दुई हजार रुपैयाँमै उडाउने जनाएको छ। यसअघि कम्पनीले सस्तोमा २५ सयदेखि ४७ सय रुपैयाँसम्ममा उडान भर्दै आएको थियो। कम्पनीले जनकपुरमा शनिबारदेखि दिनमा तीन उडानबाट सेवा दिन सुरु गरिसेकेको छ।



प्रतिक्रिया दिनुहोस्