Logo

भारतीय दुतावासले मनायो सेना दिवस, प्रधानसेनापति थापा सहभागी



काठमाडौं, ६ माघ । नेपालस्थित भारतीय राजदूतावासले ७२ औं भारतीय सेना दिवस मनाएको छ । उक्त अवसरमा हिजो (आइतबार) माघ ५ गते दुतावासले एक कार्यक्रमको आयोजना गरेर सेना दिवस मनाएको हो । दुतावासाले जारी गरेको विज्ञप्तीअनुसार उक्त कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी तथा सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।

उक्त कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले भारतीय सेना राष्ट्र निर्माणको सुरक्षा कवचको रुपमा रहेको बताएका थिए । दुई देशलाई जोड्ने नेपाली गोर्खा सैनिकको अटुट सम्बन्धको चर्चा गर्दै उनले उनीहरुको निःस्वार्थ सेवाभाव तथा त्यागप्रति कृतज्ञता व्यक्त गरे ।

उनले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक र नेपालमा बसोबास गरिरहेका उनीहरुका परिवारको सेवाका साथै उनीहरुको स्वास्थ्य तथा सुविधाको हेरचाह गर्ने प्रतिबद्घता व्यक्त गर्दै राष्ट्र निर्माणमा उनीहरुको अथक प्रयासको प्रंशसा पनि गरे ।

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले दुई देशका सेनाबीच रहेको उत्कृष्ट सम्बन्ध र सहकार्य नेपाल भारतबीच रहेको सुमधुर सम्बन्धको उदाहरणको रुपमा रहेकोे बताएका थिए ।

कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति र भारतीय राजदूतावासका कार्यवाहक राजदूतले भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकहरुलाई सम्मान गरेको पनि विज्ञप्तीमा जनाईएको छ । सो समारोहमा नेपाली सेनाका अधिकारी, विभिन्न राजदूतावासका सैनिक सहचारी,सरकारी र नागरिक उच्च–पदाधिकारी तथा भारतीय राजदूतावासका अधिकारी उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्