Logo

यसकारण अवकाशको एक महिनाअघि बिदा बसेनन् आइजीपी खनाल



काठमाडौं, ६ माघ । नेपाल प्रहरीका आइजीपी सर्वेन्द्र खनाल २९ माघबाट अवकाश पाउँदैछन् । हालको प्रहरी नियमावली अनुसार खनाल ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन् ।

अवकाश अघि एक महिना अगावै बिदा बस्ने प्रचलन रहेको छ । तर, आइजीपी खनाल बिदामा बस्न पाउनेछैनन् । तीनजना एआइजीको दरबन्दीमा सबै उनकै ब्याची हुन् । उनी बिदामा बसेर आफ्नै ब्याचीलाई कार्यवाहक दिन मिल्दैन । उनीभन्दा पछिल्लो ब्याची आइजीपीका दाबेदार छन् । उनीहरुमध्ये कसैलाई पनि कार्यवाहक दिन मिल्ने अवस्था छैन ।

आइजीपी खनाल बिदामा बस्ने हो भने उनका ब्याची एआइजी र वरिष्ठ डिआइजीहरु सबै बिदामा बस्नुपर्ने हुन्छ । यस्तो नहुने हुँदा खनाल २८ माघसम्म नक्शालस्थित प्रहरी प्रधान कार्यालय पुग्नेछन् ।

आइजीपी खनालका ब्याची १७ जना डिआइजी छन् । खनालका अलावा एआइजी पुष्कर कार्की, ठुले राई र धीरु बस्न्यातसहित २१ उच्च प्रहरी अधिकारीहरु २९ माघबाट घर जाने हुँदा कोही पनि बिदा बस्नेछैनन् ।



प्रतिक्रिया दिनुहोस्