Logo

कनकमणि दिक्षितहरुको प्रवृत्ति शान्तिप्रक्रियालाई भाँडेर देशलाई छियाछिया पारी विखन्डनतिर लाने हो-देवेन्द्र पौडेल



काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टीका नेता देवन्द्र पौडेल अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकटस्थ मानिन्छन् । उनले सभामुखमा अग्निप्रसाद सापकोटाको चयनप्रति केही प्रश्न उठाउनुलाई शान्ति प्रक्रिया भाँड्ने र डलरको खेती गर्नेहरुको चलखेल भनेका छन् । पौडेलसँग ऋषि धमलाले गरेको कुराकानीः
सभामुखको लागि अग्निप्रसाद सापकोटालाई अगाडि सारिएको छ, उहाँको सफलताको कत्तिको सम्भावना छ ?
सम्भव छ । नेकपाले संस्थागत रुपमा अग्निप्रसाद सापकोटालाई सभामुखको प्रस्ताव गरेपछि आजबाट सदनको प्रक्रिया लगभग खुलिसकेको छ । सम्भव भएर नै उहाँलाई प्रस्ताव गर्ने निर्णय गरिएको हो ।
अग्निप्रसाद सापकोटालाई नै किन अगाडि ल्याउनुभयो अरु योग्य हुनुहुन्नथ्यो ?
अरु पनि योग्य थुप्रै साथीहरु हुनुहुन्छ । सबैका अलग–अलग जिम्मेवारी छन् । कोही जिम्मेवारीमा पुग्नुभएको छैन, उहाँहरुलाई जिम्मेवारीहरु दिँदै जाने छौं । अग्नि सापकोटा तीन–तीन पटक चुनाव जितेको, शिक्षक पृष्ठभूमिबाट आएर र जनआन्दोलनमा सफल भूमिका खेलेको व्यक्तित्व भएकाले धेरै योग्य व्यक्तिमध्ये उहाँ पनि योग्य व्यक्ति हो भनेर अगाडि ल्याइएको हो ।
तपार्इंंले चिनेको अग्नि सापकोटा सभामुखको लागि सक्षम हुनुहुन्छ ?
म विद्यार्थी आन्दोलनमा हुँदा उहाँ शिक्षक आन्दोलनमा हुनुहुन्थ्यो । शिक्षक आन्दोलनमा महासचिव हुनुहुन्थ्यो । त्यसपछि हाइस्कुलको जागिर छोडेर आन्दोलनमा सहभागी हुनुभयो । पार्टी राजनीतिमा लागिसकेपछि उहाँ पार्टीको अनुशासन पद्धतिमा निष्ठावान भएर यहाँसम्म आउनुभएको हो । उहाँका केही व्यक्तिगत कमीकमजोरी होलान् । तर, पार्टीमा लागिसकेपछि पार्टीको अनुशासन र लगाव साथै देश र जनताप्रति प्रतिवद्ध व्यक्ति हो भनेर मैले अग्निप्रसाद सापकोटालाई बुझेको छु ।
अहिले आएर प्रधानमन्त्रीले पनि अग्निप्रसादलाई समर्थन गर्नुभयो यसको कारण के हो ?
हिजो हामीले जसरी पार्टी एकता गरेका थियौं । त्यो एकता भइसकेपछि दुई पार्टीहरु आज नेकपा बनिसकेका छौं । नेकपा बनेरै अगाडि बढ्ने हो । त्यो बन्नका लागि एकतामा गरिएका सहमति, प्रतिवद्धता र सम्झौता अनुसार अगाडि बढ्ने हो । त्यसरी नै निर्णयहरु भएकाले म निकै खुसी छु । यो विषयमा पनि दुई अध्यक्षबीच सहमति भयो र सचिवालय निर्णय ग¥यो । यसले पार्टी एकतालाई थप मजबुद बनाएर अगाडि बढाउन राम्रो भएको छ ।
राम्रो वातावरण कसरी बनाएको छ ?
पहिलो कुरा हामीले जुन विश्वासमा एकता गरेका थियौं । प्रधानमन्त्री त्यही त्यसैको जगमा उभिनुभएको छ । त्यसले दुई पूष्ठभूमिका साथीहरुलाई मनोबल बढाएको छ । दोस्रो बाहिर जनयुद्धको पृष्ठभूमिमा हुर्किएको भनेर टिकाटिप्पणी हुँदा पनि सहमति हुनु भनेको जनयुद्धप्रति नेकपाको प्रतिवद्धता छ भन्ने पुष्टि गरेको छ । तेस्रो दुई अध्यक्षबीच यस्तो सहमति हुँदैन कि भन्ने आशंका थियो, त्यो पनि पूर्ण आत्मविश्वासका साथ टुंगिएको छ । यो निर्णयले पार्टी र सरकार अब सहजतापूर्वक अगाडि बढ्छ भन्ने लाग्छ ।
यसपटक प्रचण्ड टसमस हुनुभएन, माधव नेपाललगायतका साथीहरुसँग गठबन्धन गर्नुभयो किन ?
गठबन्धनका कुरा पनि विभिन्न बढाइचढाई हुने गर्दछ । पार्टी अध्यक्ष भएको व्यक्तिले पूर्व प्रधानमन्त्री भइसकेका व्यक्तिहरुसँग आवश्यक सरसल्लाह र परामर्श गर्नुलाई गठबन्धनको रुपमा मैले बुझेको छैन । कसैका विरुद्ध गरिने षड्यन्त्रलाई गठबन्धन भनिन्छ । उहाँले कसैका विरुद्ध षड्यन्त्र नभएर समस्या फुकाउनका लागि गरिएको पहल कदमीको रुपमा मैंले बुझेको छु ।
प्रधानमन्त्री सु्वासचन्द्र नेम्वाङको पक्षमा हुनुहुन्थ्यो, प्रचण्डको पक्षमा सबै किन मोर्चाबन्दी भए त ?
सु्वासचन्द्र नेम्वाङ पनि अत्यन्तै जिम्मेवार व्यक्तित्व हुनुहुन्छ । अब उहाँको जिम्मेवारी पार्टीले कसरी तय गर्ने भन्ने कुरा निर्णय गर्छ । उहाँलाई रोक्नको निम्ति षड्यन्त्र गरिएको होइन । उहाँलाई पनि महत्वपूर्ण जिम्मेवारीमा अगाडि बढाउनुपर्छ । यसमा पद एउटा मात्रै थियो, हिजोको सहमतिको स्प्रिट जे थियो । त्यसैमा अगाडि जाऊँ भनेर त्यसो गरिएको हो ।
अब निश्चित रुपमा अग्निनै सभामुख हो, फेरबदल हुँदैन ?
अब अश्चितै रुपमा उहाँ सभामुख हो कुनै फेरबदल हुँदैन ।
उहाँको त हत्या आरोपमा मुद्दा चलिरहेको छ रे नि अदालतमा ?
यी सबै वाहियात कुरा हुन् । नेपालमा जनयुद्ध र जनआन्दोलनहरु भए, त्यसबेला कतिपय आन्दोलनकारीहरुको साहदत भयो । ती विद्रोही शक्तिबाट हुन् या राज्यपक्षबाट हुन् उनीहरुलाई सम्मान गर्नुपर्छ । आन्दोलनमा भएका घटनालाई व्यक्तिसँग जोडेर हल्ला गर्नुभनेको खाली डलरको खेती र शान्ति प्रक्रियालाई भाड्ने कुत्सित मनोभाव बाहेक केही होइन । किन भने अस्ति मात्रै सत्य निरुपण तथा मेलामिलाप आयोग गठन गरेर त्यसमा प्रतिपक्ष दललाई समेत समावेश गरिएको छ ।
उहाँ विरुद्ध जसरी सर्वोच्च अदालतमा मुद्दा परेको त्यसलाई कसरी निरुपण गर्ने ?
त्यस्ता मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमै लगेर टुंग्याउने भनेर निर्णय भइसकेको छ । उहाँ विरुद्धमा परेको मुद्दाको पनि त्यसैगरी मिलाउने भनेर निवेदन भइसकेको छ । उहाँ त प्रतिनिधिसभा सदस्य हो । त्यसको लागि राज्यले एउटा योग्यता तोकेको छ । त्यो योग्यता भएपछि प्रतिनिधिसभाको सदस्य हुनुहुने, अनि त्यसैलाई टेकेर कुनै पदमा जानु नहुने भन्ने हुन्छ ।
कनकमणि दीक्षितहरुले सामाजिक सञ्जालमा उहाँविरुद्ध कटाक्ष गर्नुभएको छ नि ?
उहाँहरुको प्रवृत्ति भनेको शान्तिप्रक्रियालाई भाँडेर देशलाई छियाछिया पारी विखन्डनतिर लाने हो । त्यसमा टेकेर फेरि देशलाई एक पटक द्वन्द्वमा धकेल्ने बाहेक केही पनि पाइँदैन ।
उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने तपाईंलाई विश्वास छ ?
मलाई विश्वास छ । उहाँ पनि एउटा योग्य महिला हो । उहाँको बारेमा पार्टीले पनि गम्भीर रुपमा सोच्नुपर्छं । उहाँले जसरी, ‘म पनि सभामुृखको लागि योग्य व्यक्ति हो’ भनेर आपूmलाई दृढतापूर्वक उभ्याउनुभयो । त्यसलाई पार्टीले सम्मानपूर्वक लिनुपर्छ ।
उहाँलाई मन्त्री बनाउन दुवै अध्यक्ष सहमत भएका हुन् ?
अहिले नै म त्यो भन्न सक्दिँन । उहाँ मन्त्री हुन योग्य व्यक्ति हो, त्यसमा मेरो पनि सुझाव रहने छ ।



प्रतिक्रिया दिनुहोस्