Logo

कहाँ रुमल्लियो कांग्रेस ?



माघ ६, काठमाण्डौ । झगडै झगडामा रुमल्लिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक किचलो अझै जारी छ । गत हप्ता सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौलासँग छलफल गरे । सबै विमतिलाई सहमतिमा बदलेर अघि बढ्ने प्रतिवद्धता तीनै नेताले गरे । तर सहमतिको ठोस पहल हुन सकेको छैन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेको १० दिन वितिसकेको छ । गत पुष २७ गते देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बोलाएर पार्टीको आन्तरिक विवाद समाधान गर्ने उपायबारे छलफल गरेका थिए । छलफलले ठोस निकास नदिए पनि जतिसक्दो चाँडो समाधान खोज्ने सहमति गरेको थियो ।

छलफलपछि नेता पौडेल भारत गएका थिए । भारतबाट फर्किएपछि फेरी छलफल गरेर समस्या समाधान गर्ने बताइएको थियो । तर पौडेल भारतबाट फर्किएपछि पनि निष्कर्षमा पुग्ने गरी छलफल हुन सकेको छैन । सभापति देउवा पक्षका नेता रमेश लेखक पछिल्लो समय नेताहरुबीच सहमति गराउन सक्रिय छन् । तर तत्काल नेताहरुबीच कुरा मिल्नेमा स्वयम लेखक नै विश्वस्त छैनन् । लेखकले अझै तीन हप्ताअघि ठोस समाधानको उपाय भेटिने सम्भावना नदेखिएको बताए ।

पुस ११ को केन्द्रीय समितिले १४ औं महाधिवेशनको कार्यतालिका आफूहरुसँग परामर्श नै नगरी ल्याएको भन्दै पौडेल र सिटौला देउवासँग रुष्ट थिए । उनीहरुले तीन दिनसम्म पार्टी कार्यालयमा जिल्ला सभापति भेला पनि गरेर उक्त निर्णय सच्याउन सभापति देउवालाई दवाव दिएका थिए । नेता डा.मिनेन्द्र रिजालले देउवा पक्षधर केन्द्रिय समितिले १४ औँ महाधिवेशनको मिति फागुनमा तोके पनि त्यसलाई मंसिरमा सार्नुपर्ने बताउँछन् ।

देउवाले केन्द्रिय समिति बैठकमा बहुमतको बलमा विधान मिचेर विभाग बढाएको, सदस्यता सम्बन्धी धारा निलम्बन गरेको भन्दै निर्णय सच्याउन पौडेल र सिटौला समूहले माग गरिरहेका छन् । अहिलेसम्म न देउवा निर्णय सच्याउन तयार भएका छन्, न पौडेल–सिटौला पक्षले अडान छोडेका छन् । यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अझै कति समय विवादमा रुमल्लिने हो ठेगान छैन ।



प्रतिक्रिया दिनुहोस्